बागलुङ,१७ साउन । बागलुङ जिल्लाका विभिन्न स्थानमा खानेपानीको मुहानमै दिसा जन्य जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ वटा मुहान परीक्षण गर्दा १२५ वटा मुहानमा कोलिफर्म फेला परेको जनाएको छ ।
सबैभन्दा बढी जैमिनी नगरपालिकामा कोलिफर्म देखिएको छ । १०६ वटा मुहान परीक्षण गर्दा ४२ वटामा कोलिफर्म भेटिएको ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । त्यस्तै, गलकोटमा ९१ परीक्षणमध्ये ४०, काठेखोलामा ४७ मध्ये २७, बडिगाडमा ६८ मध्ये १०, र बागलुङ नगरपालिकामा २४ मध्ये ४ वटा मुहानमा कोलिफर्म फेला परेको हो ।
ढोरपाटन नगरपालिकाका पाँच मुहानमा भने कोलिफर्म नभेटिएको जनाइएको छ । तर, निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकामा भने परीक्षण नै नभएको आचार्यले जानकारी दिए ।
गत वर्षको तुलनामा यो वर्ष कोलिफर्म देखिएको मुहानको संख्या बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । “अघिल्लो वर्ष १०३ मुहानमा कोलिफर्म थियो, यो वर्ष १२५ पुगेको छ”, आचार्यले भने, “अब सबै पालिकामा परीक्षणको दायरा बढाउँदै लैजाने योजना छ ।”
धौलागिरि प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीका अनुसार यस्तो पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बी, पिसाब र रगतमा सङ्क्रमणजस्ता गम्भीर रोग लाग्न सक्छ । उनले कोलिफर्म फेला परेको मुहानको पानी उमालेर मात्र प्रयोग गर्न सुझाव दिएका छन् ।
यसैबीच, सबैभन्दा बढी कोलिफर्म देखिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले मुहानको सरसफाइ र संरक्षणमा पालिका लागिपरेको जानकारी दिए । उनले कोलिफर्म देखिएका मुहानहरूलाई व्यवस्थित गर्दै जनचेतना अभिवृद्धि र शुद्ध पानीको व्यवस्थापनका लागि ‘वास प्लान’ कार्यान्वयनमा ल्याइएको बताए ।–00–

