काठमाडौं,१० बैशाख । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन् ।
शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सारेको हो । पन्तको भोलि ४ बजे शपथ गराउने तयारी छ ।
एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई हटाएका थिए । शीतल निवासको विज्ञप्ति नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ । ऊर्जाराज्यमन्त्रीको पद भने खाली छ ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद्को बरियताक्रमको आठौँ नम्बरमा अटाएका छन् । भर्खरै मात्रै राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको २ राज्यमन्त्री सहितको २४ सदस्यीय मन्त्रिपरिषद्मा आठौँ नम्बरमा अटाएका हुन् ।
वरियता अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपप्रधान एवम सहरी विकासमँन्त्री प्रकाशनमान सिंह, तेस्रो नम्बरमा उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल, चौथो नम्बरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पाचौँ नम्बरमा गृहमन्त्री रमेश लेखक, छैटौ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री शरदसिंह भण्डारी र सातौ नम्बरमा परराष्ट्रमन्त्री डा.आरजु राणा रहेका छन् ।

–00–

