चितवन निकुञ्जमा जंगली हात्तीको आक्रमणवाट एक सैनिक घाइते

चितवन, १४ साउन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका एक नेपाली सैनिक जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कछुवानी पोष्टबाट डेढ किलोमिटर पूर्वमा आज बिहान भएको घटनामा हवल्दार नन्दसिंह ठकुरी घाइते भएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चार जनाको गस्ती टोली मचानमा बसेर फर्कने क्रममा बिहान ७ बजेर १० मिनेट जाँदा कमाण्डर हवल्दार ठकुरीमाथि हात्तीले आक्रमण गरेको थियो । सुडले आक्रमण गर्दा उनको ढाड र हातमा चोट लागेको छ ।

थप आक्रमणबाट जोगिन गस्तीमा रहेका सैनिकहरूले तीन राउण्ड हवाइ फायरसमेत गर्नु परेको जनाइएको छ ।

घाइते ठकुरीको उपचार बकुलहर अस्पतालमा गरिएको छ । प्रारम्भिक परीक्षणमा भित्री चोट नभएको र बाहिरी चोट मात्रै देखिएको सूचना अधिकारी मगरले जानकारी दिएका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु