रेशम सापकोटा – सेतो नेपाल
चितवन, १३ साउन ।– माडी नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा, माडी नगर योग समिती, माडी महिला नगर योग समिती र माडी जेसिजको सहकार्यमा तीन दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ।

माडी–६ स्थित जनकल्याण माध्यमिक विद्यालयको सभाहलमा साउन ११ देखि १३ गतेसम्म सञ्चालन भएको तालिममा ३५ जना सहभागीहरूले नेतृत्व विकास, सार्वजनिक रूपमा बोल्ने कला, माइनुट लेखन, कार्यक्रम तालिका निर्माण, उद्घोषण, सार्वजनिक कार्यक्रममा सहभागिता र भूमिकासम्बन्धी विषयमा प्रशिक्षण प्राप्त गरेका थिए।

तालिममा जेसिजका राष्ट्रिय प्रशिक्षक शिवप्रसाद भुसाल, हरि न्यौपाने, विपिन पाठक, हरि रानाभाट र दीप्ति विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षक विपिन पाठकले भन्नुभयो, “सहभागीहरूको जिज्ञासा र सक्रियता धेरै प्रेरणादायी थियो। यसले तालिमलाई थप प्रभावकारी र अर्थपूर्ण बनायो। उनीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा राम्रो सुधार भएको देखियो।”

कार्यक्रमको औपचारिक उद्घाटन माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतले गर्नुभएको थियो। कार्यक्रमको समापन आज माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
प्रमुख अतिथि भुसालले यस्ता तालिमले सहभागीहरूको आत्मबल र नेतृत्व क्षमता वृद्धि गर्ने विश्वास व्यक्त गर्दै, सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।

सहभागी कमला काफ्लेले तालिमबाट सार्वजनिक प्रस्तुती, आत्मविश्वास र व्यवहारिक सीपमा वृद्धि भएको अनुभव व्यक्त गर्नुभयो।
कार्यक्रम माडी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्रराज पाैडेलको सभापतित्वमा सम्पन्न भएको थियो। –00–


