रेशम सापकोटा – सेतो नेपाल
चितवन, १३ साउन – भरतपुर अस्पतालमा उपचारका लागि आउने हजारौं बिरामी र कुरुवा शौचालयको असुविधा भोगिरहेका छन्। शौचालयमा आवश्यक सरसफाई सामग्रीको अभावले गर्दा उनीहरू अनावश्यक स्वास्थ्य जोखिममा परिरहेका छन्।
अस्पतालमा दैनिक करिब ३,००० जना बिरामी ओपीडी, इमर्जेन्सी वा भर्ना सेवाका लागि पुग्छन्। तीमध्ये अधिकांशसँग कम्तीमा एक जना कुरुवा पनि आउने भएकाले अस्पताल परिसरमा दैनिक आउने र बस्ने मानिसको संख्या ६,००० नाघ्छ। यी सबैजना दिनको कम्तीमा एकपटक शौचालय प्रयोग गर्ने गरेकाले हजारौं मानिस सरसफाई सामग्रीविहीन शौचालय प्रयोग गर्न बाध्य छन्।

शौचालयहरू पूर्ण रूपमा फोहोर छैनन्, तर भित्र आवश्यक सामग्री—साबुन, सेनिटाइजर, टिश्यु—पाइँदैन। विशेष गरेर ट्वाइलेट गरेपछि हात धुन साबुन नहुनु सेवा लिने नागरिकका लागि गम्भीर समस्या बनेको छ।
“ट्वाइलेट प्रयोग गर्दा पानी त कहिले आउँछ, कहिले आउँदैन। तर सबैभन्दा झर्को त साबुन नै नभएर दिशापिसाबपछि हात सफा गर्न नपाउनु हो,” एक बिरामीका कुरुवाले गुनासो गर्नुभयो।
नेपाल सरकारको ‘स्वास्थ्य संस्था स्वच्छता तथा सरसफाई निर्देशिका, २०७४’ मा स्पष्ट उल्लेख छ— अस्पतालका शौचालयमा साबुन, पानी, सेनिटाइजर र महिलाहरूका लागि सेनेटरी प्याड अनिवार्य रूपमा उपलब्ध गराउनु पर्छ। तर भरतपुर अस्पतालमा ती सामग्रीको नियमित व्यवस्था नभएकोले यो नीति विपरीतको अवस्था हो।

अस्पतालभित्र अहिले अर्को समस्या पनि फैलिएको जनगुनासो आएको छ— कर्मचारीहरू कार्यकक्षमै कम्प्युटरमा फिल्म हेर्ने, सेयर बजारसम्बन्धी काम गर्ने गरेको गुनासोहरू सेवाग्राहीहरूबाट आउन थालेका छन्। सर्वसाधारणका आवश्यक काममा भने ढिलासुस्ती, बेवास्ता र प्रतीक्षा झनै बढिरहेको छ।
भरतपुर अस्पतालका सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले यस विषयमा प्रतिक्रिया दिँदै भने, “शौचालयमा आवश्यक सरसफाई सामग्री नहुनु गम्भीर लापरवाही हो। तपाईंहरूको गुनासोलाई गम्भीर रूपमा लिएका छौं। आजै सम्बन्धित विभागलाई निर्देशन दिनेछौं।” उहाँले सेतो नेपालसँग टेलिफोनमा भन्नुभयो ।

बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गोलालले पनि यो अवस्था स्वास्थ्य नीतिविपरीत भएको स्पष्ट पार्दै भने, “सार्वजनिक शौचालयमा साबुन, सेनिटाइजर, सरसफाईका अन्य सामग्रीहरू राख्नुपर्ने कुरा मन्त्रालयको स्पष्ट नीति हो। यस्तो अभाव हुनु आफैंमा गम्भीर लापरवाही हो, र तत्काल सुधार गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।”
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्ता लापरवाही र नीति कार्यान्वयनको बेवास्ताले नागरिक स्वास्थ्यप्रतिको जिम्मेवारीमै गम्भीर प्रश्न उठाएको छ। यस्ता अवस्थालाई लामो समयसम्म नजरअन्दाज गरिएमा जनस्वास्थ्यमा झनै ठूलो जोखिम निम्तिन सक्ने चेतावनी सरोकारवालाहरूले दिएका छन्।–00—


