मुग्लिन–नारायणगढ सडकखण्डमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

काठमाडौं,  १२ साउन । चितवनको भरतपुर–२९ स्थित दासढुङ्गा नजिकै सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

दिउँसो करिब ४:४० बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये एक जनाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ भने अर्का घाइतेको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। मृतकको साथबाट प्रहरीले भरतपुर महानगरपालिका–११ ठेगाना रहेको सागर कुमाल नामको चालक अनुमति पत्र (लाइसेन्स) फेला पारेको छ।

अर्का घाइते युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। अन्दाजी ३५ वर्षका ती व्यक्तिको शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनामा संलग्न ट्याङ्कर चालक तनहुँ बन्दीपुर गाउँपालिका–१ का ३५ वर्षीय प्रेमबहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार दुर्घटना भरतपुर–२९ चौधकिलो भन्ने स्थानमा भएको हो, जुन जुगेडी प्रहरी चौकीबाट करिब ३ किलोमिटर मुग्लिनतर्फ पर्छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।–00-

Share:

सम्बन्धित समाचारहरु