बुद्ध एयरको भरतपुर–भैरहवा रुटमा उडान सुरु, भैरहवा पुग्न १८ मिनेट लाग्ने

चितवन, २३ असार । भरतपुरबाट भैरहवासम्म जहाजमा जान सकिने भएको छ । बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुलाई जोड्ने क्रममा भरतपुर–भैरहवा रुटमा उडान सुरु गरेको हो । सडक मार्गबाट करिब ४ घण्टाको दुरी अब हवाई मार्गबाट १८ मिनेटमा छोटिएको छ ।

बुद्ध एयर भरतपुरका म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार आइतबारबाट उडान सुरु गरिएको छ । आइतबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको जानकारी दिए । उडानको समय १२ः५५ बजे निर्धारण गरिएको छ ।

यसअघि बुद्धले भरतपुर–काठमाडौँ र भरतपुर–पोखरा रुटमा उडान गर्दै आइरहेको छ । अब पोखराबाट उडेको जहाज भरतपुर हुँदै भैरहवा पुग्ने प्रवन्धक बस्नेतले बताए । यस रुटको भाडा दर चार हजार ३३५, तीन हजार ३३५ र दुई हजार ८३५ रहेको छ ।

अहिले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डमा सडक बिस्तारको काम जारी छ । त्यसकारण सडकमार्गमा हुने विभिन्न अवरोधका कारण यात्रा अवरुद्ध हुने यात्रुले अब भरतपुरबाट भैरहवा पुग्न सक्ने छन् । भैरहवा बुटवलबाट सबैभन्दा नजिकको विमानस्थल हो ।

पर्यटकिय नगरी सौराहा र लुम्बिनीलाई जोड्नका लागि पनि यो उडान महत्वपूर्ण छ । मेडिकल सिटीको रुपमा परिचित चितवनमा पश्चिम नेपालबाट आउने क्यान्सर लगायतका विरामीहरुका लागि पनि थप सहज हुनेछ । यस्तै भारतिय पर्यटकहरु पनि भैरहवा हुँदै चितवन आउनका लागि भैरहवा(भरतपुरको उडानले सहज बनाउने म्यानेजर बस्नेतले बताउनुभयो ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु