रेशम सापकोटा – सेतो नेपाल
चितवन,९ साउन । चितवनको माडीमा लामो समयदेखि जारी अनियमित विद्युत आपूर्ति, बारम्बार लाइन जाने समस्या र नेपाल विद्युत प्राधिकरणको उदासीनताले आक्रोशित बनेका स्थानीयवासीले शुक्रबार वितरण केन्द्रमै तालाबन्दी गरेका छन्।
वितरण प्रणालीमा देखिएको चरम लापरवाहीप्रति विरोध जनाउँदै स्थानीय युवाहरूको अगुवाइमा माडी वितरण केन्द्रमा दिउँसो करिब १२ बजे तालाबन्दी गरिएको हो।
करिब डेढ घण्टा लामो तालाबन्दी शनिबार बिहान १० बजे चनौली वितरण केन्द्रका प्रमुखसहितको प्राविधिक टोली माडीमै आएर स्थलगत निरीक्षण गर्ने र समस्या समाधानमा पहल गर्ने मौखिक सहमतिसँगै खोलिएको हो।
स्थानीय युवा अगुवा रवि भुर्तेलका अनुसार सामाजिक सञ्जालमार्फत अभियान चलाएर विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउने प्रयास गरिएको थियो। “हामीले फेसबुकमार्फत जनआह्वान गर्यौं— ‘हामी माडी वितरण केन्द्रमा जान्छौं, छलफल गरौं’। हामी गयौं पनि, तर छलफलबाट चित्त नबुझेपछि बाध्य भएर ताला लगाउनुपर्यो,” भुर्तेलले सेतो नेपालसँगको कुराकानीमा भन्नुभयो।
उहाँले माडीमा विद्युत आपूर्ति अवस्था अत्यन्तै दयनीय रहेको उल्लेख गर्नुभयो। “पटक–पटक मौखिक रूपमा जानकारी गरायौं, ज्ञापनपत्र पनि बुझायौं, तर सुनुवाइ भएन।
लाइन जानेबित्तिकै फ्रिजमा राखिएका खाद्यान्न बिग्रन्छन्, सिँचाइ ठप्प हुन्छ, अत्यधिक गर्मीका कारण सुत्नै नसकिने अवस्था छ। सुत्केरी महिला, वृद्धबृद्धा, विद्यार्थी र आम नागरिक सबै प्रभावित छन्,” उहाँको भनाइ छ।
नेपाल विद्युत प्राधिकरण माडी वितरण केन्द्रका प्रमुख सुदर्शन पाण्डेका अनुसार हाल माडीमा विद्युत खपत १८० एम्पियरसम्म पुगेको छ। “हाम्रो पूर्वाधारले ८०–८५ एम्पियरको मात्र लोड धान्न सक्छ। क्षमताभन्दा दोब्बर माग भएपछि लाइन कटौती गर्नुपरेको हो,” उहाँले जानकारी दिनुभयो।
हाल माडीमा भरतपुर वितरण केन्द्रबाट ३३ केभी लाइनमार्फत चनौली हुँदै विद्युत आपूर्ति भइरहेको छ। तर सो लाइनले हालको लोड धान्न नसकेको स्पष्ट पार्दै उहाँले समस्या समाधानका लागि समन्वय भइरहेको उल्लेख गर्नुभयो।
यसबीच, माडीस्थित सञ्चारकर्मी पत्रकार दिप्ति विश्वकर्माले वर्षौंदेखि दोहोरिँदै आएको विद्युत समस्या समाधानतर्फ स्थानीय जनप्रतिनिधिहरूले आवश्यक ध्यान नदिएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो। “पटक–पटक लाइन गइरहँदा पनि समाधानका लागि जनप्रतिनिधिहरू मौन रहँदा माडीबासी थप पीडित भइरहेका छन्।
सिँचाइदेखि व्यवसाय, स्वास्थ्य र दैनिक जीवन हरेक तहमा यसले असर गरिरहेको छ,” वहाँले भन्नुभयो। “माडीबासीले वर्षौंदेखि दुःख भोगिरहेका छन्, अब यो समस्या समाधान हुनु अत्यावश्यक छ।”
मौखिक सहमति भई ताला खोल्ने बेला इलाका प्रहरी कार्यालय माडी बसन्तपुरका प्रहरी निरीक्षक योगेन्द्र राई, माडी वितरण केन्द्रका प्रमुख सुदर्शन पाण्डे, अन्य कर्मचारीहरू तथा आन्दोलनमा संलग्न स्थानीय युवा र व्यापारीहरूको उपस्थिति रहेको थियो।
माडीमा विद्युत सेवा जस्तो आधारभूत आवश्यकता लगातार अवरुद्ध हुँदा जनताको दैनिकी ठप्प भएको छ। स्थानीयहरूले समस्या तत्काल समाधान नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।–00–