नेपाली समुदायको असल उदाहरण प्रस्तुत

दुर्घटनामा गम्भीर घाइते उमा देवी पोख्रेलको उपचारका लागि तीन लाख येन संकलन

रेशम सापकोटा – सेतो नेपाल

चितवन, ८ साउन । नेपालबाट केही महिना अघि जापान घुम्न आउनुभएकी ७० वर्षीय उमा देवी पोख्रेल एक महिना अघि कुमामोतो शहरमा पैदल यात्रा गर्ने क्रममा दौडिरहेको सवारीले ठक्कर दिँदा गम्भीर घाइते हुनुभयको थियो ।

हाल उहाँ कुमामोतो नेशनल अस्पतालमा उपचाररत हुनुहुन्छ। दुर्घटना निकै गम्भीर भएको र उहाँसँग जापानको स्वास्थ्य बीमा समेत नरहेकोले अस्पतालको उपचार खर्च अत्यन्तै महँगो भएको कारण परिवारका लागि यो अत्यन्तै दुःखद र चुनौतीपूर्ण समय बन्दै गयको छ ।

यसै सन्दर्भमा उहाँकी नातिनी मनिषा पोख्रेल भण्डारी र उनका श्रीमान रमेश भण्डारीले कुमामोतोमा बसोबास गर्दै आएको नेपाली समुदायसँग हार्दिक अनुरोध गर्दै सहयोगको याचना गरे।

यस संवेदनशील क्षणमा कुमामोतो नेपाली समाज जापानले मानवीय उत्तरदायित्व बोध गर्दै तत्काल कदम चालेको थियो। समाजले उपाध्यक्ष श्री बद्री प्रसाद सापकोटाको संयोजनमा अभियान सञ्चालन गर्ने निर्णय गर्‍यो र अभियानले छोटो समयमै ठूलो जनसहभागिता बटुल्यो।

लगभग एक महिनासम्म चलाइएको उक्त अभियानमा जापानका विभिन्न क्षेत्रहरूबाट बसोबास गर्दै आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको मनछुने साथ प्राप्त भयो।

स–साना रकमहरूबाट सुरु भएको अभियानले अन्ततः ¥300,000 (तीन लाख येन) संकलन गर्न सफल भयो। सोही क्रममा ASO FC क्लबको नेतृत्वमा छुट्टै रुपमा उठाइएको ¥40,000 पनि समावेश गर्दै, संपूर्ण रकम यही मिति सन् २०२५ जुलाई २२ तारिखका दिन उमा देवी पोख्रेलकी नातिनी मनिषा पोख्रेलको बैंक खातामा सुरक्षित रूपमा हस्तान्तरण गरिएको हो।

सेतो नेपालसंगगर्दै कुमामोतो नेपाली समाजका उपाध्यक्ष तथा अभियान संयोजक  बद्री सापकोटाले भावुक हुँदै भन्नुभयो, “अब नेपालबाट आएकी एउटी आमा जापानको सडकमा दुर्घटनाग्रस्त भएर अस्पतालमा थला पर्नुभएको छ, यस्तो दुःख हामीले सहन सक्दैनौँ।

उहाँ कुनै एक व्यक्तिको मात्रै आमा होइनन्, उहाँ हामी सबै नेपालीहरूको साझा आमाजस्तै हुनुहुन्छ।”

उहाँले थप गर्नुभयो, “यस्तो बेला साथ दिनु हाम्रो धर्म हो। यो हाम्रो कर्तव्य हो, हाम्रो जिम्मेवारी पनि हो। हामी नेपालीहरू जहाँ भए पनि दुःखमा साथ दिन्छौं भन्ने सन्देश दिन पाउँदा गर्व लागेको छ।”

अभियानमा उल्लेख्य योगदान पुर्‍याउनेमा कुमामोतो नेपाली समाजका पदाधिकारी, संरक्षक, सल्लाहकार, कार्यसमिति सदस्यहरूदेखि लिएर जापानभरि रहेका ८५ जना दाताहरू रहेका छन्। सबैको सहयोगलाई पारदर्शी रूपमा व्यवस्थापन गर्दै नामसहित सहयोग रकम सार्वजनिक गरिएको छ।

सहयोग रकमहरू ¥500 देखि ¥10,000 सम्म रहेका छन्, जसमा धेरै सहयोगी मनहरूले आफ्नो तर्फबाट सक्दो साथ दिएका छन्।

मनिषा पोख्रेल भण्डारी र उनका परिवारले कुमामोतो नेपाली समाजप्रति हार्दिक आभार प्रकट गर्दै भनेका छन्, “यो दुःखको घडीमा समाजले देखाएको साथ, आत्मीयता र सद्भावनाले हामीलाई भित्रबाट छोएको छ। कुमामोतो नेपाली समाज साँच्चिकै हाम्रो साझा घर हो भन्ने अनुभूति भयो।”

यस सफल अभियानले जापानस्थित नेपाली समुदायबीचको एकता, सहयोग भावना र मानवीय मूल्यलाई अझ मजबुत बनाएको छ। संकटका बेला नेपालीहरू कति संगठित र समर्पित छन् भन्ने उजागर गराएको यस अभियानबाट घाइते उमा देवी पोख्रेलको उपचारमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

कुमामोतो नेपाली समाज र सम्पूर्ण सहयोगदाताहरूको यो योगदान नेपाल र विदेशमा रहेका नेपाली समुदायका लागि प्रेरणाको स्रोत बन्ने निश्चित छ।

कुमामोतो नेपाली समाज जापानका उपाध्यक्ष श्री बद्री प्रसाद सापकोटा सङ गरेको कुराकानीका आधारमा तयार पारेको समाचार

Share:

सम्बन्धित समाचारहरु