काठमाडौं ।
आश्विन शुक्ल पञ्चमीको अवसरमा आज नवरात्रको छैटौँ दिन भए पनि पञ्चमी तिथिका कारण श्रद्धालुहरूले नवदुर्गामध्ये पाँचौँ रूप स्कन्दमाताको पूजा–आराधना गरिरहेका छन्।
पुराणका अनुसार स्कन्दमाता भगवती पार्वतीकै स्वरूप हुन्। भगवान् स्कन्दकुमार (कुमार) की माता भएकी कारण यिनको नाम स्कन्दमाता रहन गएको बताइन्छ। गोरो वर्णकी, चार हात भएकी स्कन्दमाताको काखमा ६ मुख भएका स्कन्दकुमार विराजमान हुन्छन्। कमलको आसनमा बसेको कारण यिनलाई पद्मासना पनि भनिन्छ।
नवरात्रमा प्रत्येक दिन फरक–फरक देवीको पूजा गर्ने परम्परा रहेको छ। आज श्रद्धालुहरूले घटस्थापना गरिएको स्थान तथा देशभरका शक्तिपीठहरूमा पुगेर शक्तिस्वरूपा भगवती स्कन्दमाताको विशेष आराधना गरेका छन्।
मार्कण्डेय पुराणको देवीमाहात्म्य अनुसार नवदुर्गा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन्। घटस्थापनादेखि नवमीसम्म प्रत्येक दिन क्रमशः यिनै देवीहरूको उपासना गर्ने परम्परा चलिआएको छ।
नवरात्रभरि महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपिणी शक्तिस्वरूपा भगवतीको आराधना गर्ने चलन छ।


