चितवन, ७ साउन । – सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका वर्तमान प्रदेश सांसद लक्ष्मणकिशोर चौधरी गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत छन् । दुबै मिर्गौला फेल भएपछि उनी हाल तेस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारीमा छन्, तर उपचार खर्च अभावका कारण अप्रेसनको मिति पटक–पटक सर्न थालेको छ ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत चौधरीको फाइल चार महिनादेखि सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अड्किएको छ । यसै कारण उनी समयमै प्रत्यारोपण गर्न नसकी हप्तामा तीनपटक डायलसिस गर्न बाध्य छन् । “सस्तो र सहज उपचारको आशा गरेको थिएँ, तर मेरो फाइल एक ठाउँमा अड्किन्छ, कहिले अर्को ठाउँमा,” अस्पतालमै रहेका चौधरीले गुनासो गरे ।
पूर्व सामाजिक विकास मन्त्री तथा उद्योग मन्त्रीसमेत रहेका चौधरीका अनुसार एक हप्ताको डायलसिस खर्च मात्र १८ हजार रुपैयाँ आउँछ । आगामी प्रत्यारोपणका लागि ७ देखि ८ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जानकारी दिएको छ ।संबन्धित कानुन अनुसार प्रदेश सभाका पदाधिकारी तथा सदस्यका लागि सरकारले उपचार खर्च व्यवस्था गर्न सक्ने व्यवस्था भए पनि अहिलेसम्म उनको अघिल्ला उपचार खर्चको बिल भुक्तानीसमेत हुन सकेको छैन ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार फाइल प्रक्रिया अनुसार आन्तरिक मामिला मन्त्रालयमा पठाइसकिएको छ, तर त्यसलाई अघि बढाउन आर्थिक मामिला मन्त्रालयको सहमति र मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले आफूले फाइल अघि बढाउन निर्देशन दिइसकेको बताउँदै यसबारे पुनः चासो लिएको जानकारी दिए ।
पूर्वमन्त्री चौधरीका स्वकीय सचिव बालगोविन्द चौधरीले फाइल अझै आन्तरिक मामिला मन्त्रालयबाट आर्थिक मामिला मन्त्रालयमा पठाउन बाँकी रहेको बताए । जब आर्थिक मामिला मन्त्रालयबाट सहमति प्राप्त हुन्छ र मन्त्रिपरिषद्बाट निर्णय हुन्छ, त्यतिबेला मात्रै फाइल प्रदेश सभा सचिवालयमा फर्केर उपचार खर्च भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।
२०७२ सालमा कान्छी बहिनी असर्फी चौधरी र २०६५ सालमा आमाबाट मिर्गौला प्राप्त गरेका चौधरी पछिल्लो समय पुनः प्रत्यारोपणको तयारीमा छन् । मिर्गौलासम्बन्धी समस्या उनीमा पहिलोपटक २०६४–०६५ सालतिर थारु भाषाको चलचित्र ‘भुइँचाल’ निर्माणका क्रममा देखिएको थियो ।
२०८१ साल जेठ २० गतेदेखि पुनः गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनी काठमाडौं, सेती प्रादेशिक अस्पताल र नवजीवन अस्पतालमा नियमित उपचारमा छन् ।
जीवन र मृत्युको दोसाँधमा रहेका चौधरी राज्यबाट पाउने उपचार अधिकार र प्रक्रिया छरितो बनाउन आग्रह गरिरहेका छन् ।
जीवन र मृत्युको दोसाँधमा रहेका चौधरी राज्यबाट पाउने उपचार अधिकार र प्रक्रिया छरितो बनाउन आग्रह गरिरहेका छन् । यसैबीच विरामीका परिवारले स्वास्थ्य उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । उपचारमा ठूलो आर्थिक खर्च भइरहेकाले चौधरीको जीवन रक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । सहयोगगर्न चाहनेदाताहरुले सानीमा बैंकमा रहेको विरामी चौधरीकै नामको खातामा आर्थिक सहयोग जम्मा गर्न सक्नुहुनेछ । वा सानीमा बैंककै क्यूआर मार्फतपनि आर्थिक सहयोग पठाउन सकिनेछ ।

–00–


