नागरिक पहलमै सार्वजनिक सुविधा : सप्तगण्डकी टोलको प्रेरणादायी काम

– रेशम सापकोटा
चितवन १० पौष – भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा रहेको सप्तगण्डकी टोल विकास संस्थाले स्थानीय नागरिकको सक्रिय सहभागितामा टोलभित्रका सातवटा मार्गमा यात्रु प्रतीक्षालय र बेन्च निर्माण गरी सार्वजनिक सुविधाको एउटा अनुकरणीय नमुना प्रस्तुत गरेको छ।

नेपालका धार्मिक नदीहरूको नामबाट नामाकरण गरिएका सातवटा मार्गको संगम भएकाले यस टोललाई ‘सप्तगण्डकी’ नाम दिइएको हो। करिब ९० घरधुरी रहेको यस टोलमा बुद्धचोकबाट प्रवेशप गर्ने १६ मिटर चौडा मूल सडकको दाहिनेपट्टि, वडा कार्यालयसँग स्वीकृति लिएर र पैदलयात्री तथा फुटपाथलाई असर नपर्ने गरी फलामे संरचनाका प्रतीक्षालयहरू निर्माण गरिएका छन्। यी संरचनाहरू आज वृद्ध, महिला, बालबालिका, युवालगायत सर्वसाधारणका लागि बसोबास, विश्राम तथा बस स्टपको रूपमा नियमित रूपमा प्रयोग भइरहेका छन्।

बालबालिका विद्यालय लैजान–ल्याउन, वृद्धवृद्धालाई आराम गर्न र यात्रुहरूलाई सवारी कुर्न यी प्रतीक्षालय अत्यन्त उपयोगी बनेका छन्। “यात्रामा हिँड्ने मानिसदेखि लिएर बालबालिका र ज्येष्ठ नागरिकसम्म सबैका लागि यी संरचनाले ठूलो सहजता दिएको छ टोल विकास संस्थाकी सदस्य इन्दु गौतमको भनाइ छ । यी सातवटा प्रतीक्षालय र बेन्च क्रमशः नेत्रप्रसाद डुम्रे, भीमवहादुर आले,तेजप्रसाद भुसाल, मिनबहादुर आले, दिलीप अधिकारी, मिरा न्यौपाने, लक्ष्मी दत्त पौडेल र तारासागर अधिकारीले आफ्ना बुवाआमाको स्मृतिमा निर्माण गर्नुभएको हो।

यस सन्दर्भमा तेजप्रसाद भुसालले भन्नुभयो, “हामीले यो संरचना आफ्ना बुवाआमाको सम्झनामा बनाएका हौँ। उहाँहरूले हामीलाई सिकाउनुभएको सेवा र सहयोगको भावनालाई समाजमा उतार्ने हाम्रो प्रयास हो।” सप्तगण्डकी टोल विकास संस्थाका सचिव गणेश सुवेदीका अनुसार एकवटा प्रतीक्षालय र बेन्च निर्माण गर्न करिब रु. २३ हजार ५०० खर्च भएको छ। सबै काम वडाबाट स्वीकृति लिएर र तोकिएको मापदण्डभित्र रहेर गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार यो अभ्यास देखेपछि छिमेकी टोल विकास संस्थाहरूले पनि यस्तै नागरिकमैत्री संरचना निर्माण गर्न थालेका छन्।

यसैबीच टोल विकास संस्थाका कार्यसमिति सदस्य दिलीप अधिकारीले करिब डेढ कट्ठा जग्गा पाँच वर्षका लागि निःशुल्क उपलब्ध गराएपछि सो स्थानमा ब्याडमिन्टन, टेबल टेनिस तथा खुला व्यायामस्थल सञ्चालनमा आएको छ, जसले टोलका युवादेखि ज्येष्ठ नागरिकसम्मलाई नियमित रूपमा जोडेको छ। टोल विकास संस्थाका संस्थापक सचिव श्रीप्रसाद दवाडीले भरतपुर महानगरभित्र पहिलो पटक सिमेन्ट पोल र एरो प्रयोग गरी मार्गहरूको नामाकरण गर्ने काम यही टोलबाट सुरु भएको उल्लेख गर्दै भन्नुभयो, “मुख्य सडकदेखि भित्रका गल्लीसम्म एरोसहित नाम राख्दा टोल व्यवस्थित र चिनारीयुक्त बनेको छ, जुन अभ्यासलाई पछि महानगरले पनि विस्तार गर्‍यो।”

हालका अध्यक्ष योगेन्द्रप्रसाद निउरेले सप्तगण्डकी टोलको यो पहलले स्थानीयस्तरमा सार्वजनिक सेवा संस्कृतिलाई बलियो बनाएको बताउनुभयो। यस संस्थाका संस्थापक अध्यक्ष विष्णुप्रसाद लामिछानेले भन्नुभयो, “राज्यले मात्र होइन, नागरिकले पनि समाज निर्माणमा भूमिका खेल्न सक्छन् भन्ने सोचबाट यो संस्था सुरु गरिएको हो। आज मानिसहरूले आफ्ना बुवाआमाको स्मृतिमा समाजका लागि उपयोगी संरचना बनाउनु आफैँमा ठूलो चेतनाको विषय हो।”

सप्तगण्डकी टोलको यो अभ्यासले देखाएको छ कि जब नागरिक भावना, स्मृति र सामाजिक उत्तरदायित्व एकै ठाउँमा भेटिन्छन्, तब दिगो विकासको आधार तयार हुन्छ। आफ्ना बुवाआमाको सम्झनामा निर्माण गरिएका यी प्रतीक्षालयहरू आज सयौँ सर्वसाधारणका लागि दैनिक जीवनको सहज सहारा बनेका छन् र यसले भरतपुर महानगरमा सामुदायिक विकासको एक प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

तस्विरः विजय खरेल । सेतोनेपाल ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु