क्यानडाको ब्राम्टनका मेयर र कालिका नगर प्रमुखबीच मैत्रीपूर्ण भेटघाट, भगिनी सम्बन्ध स्थापनाबारे छलफल

टोरन्टो, क्यानडा – ६ साउन ।
क्यानडाको ब्राम्टन नगरका मेयर प्याट्रिक ब्राउन र डेपुटी मेयर हरकिरत सिंहसँग कालिका नगरपालिकाको प्रतिनिधिमण्डलले मैत्रीपूर्ण भेटघाट गरी आगामी दिनमा भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा महत्वपूर्ण छलफल गरेको छ।

भेटघाटका क्रममा दुवै नगर प्रमुखबीच विकासको मोडेल आदान–प्रदान गर्ने र दुई नगरबीच आपसी सहयोग तथा मैत्रीपूर्ण भ्रमणलाई थप सुदृढ बनाउने विषयमा सहमति जनाइएको थियो।

उक्त अवसरमा कालिका नगरपालिकाको तर्फबाट ब्राम्टन नगरपालिकालाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणासमेत प्रदान गरिएको थियो।

कार्यक्रममा क्यानडा कन्जरभेटिभ पार्टीका नेता विजय पौडेल, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश धिताल, एनआरएन (NRNA) का पूर्व अध्यक्ष तथा हाल नेपाल हाउस क्यानडाका सभापति गोपिकृष्ण काफ्ले, मञ्चका सदस्यहरू शुदर्शन अधिकारी, विकास डल्लाकोटी, जगन सापकोटा लगायतको उपस्थिति रहेको थियो।

यस भेटघाटले नेपाल र क्यानडाबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।

Share:

सम्बन्धित समाचारहरु