पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरे

पाँचथर, १७ बैशाख । पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् ।

जिल्लाको फालेलुङ गाउँपालिका(३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् ।

 

चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ ।

 

उक्त गोठमा १३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछि क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । –00–

Share:

सम्बन्धित समाचारहरु