ढाकामा सेनाको विमान विद्यालयमा खस्दा १९ जनाको मृत्यु, सयभन्दा बढी घाइते

काठमाण्डौं, ५ साउन ।  बङ्गलादेशको राजधानी ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको क्याम्पसमा सोमबार सेनाको लडाकु विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन्।

चिनियाँ निर्मित एफ–७ बीजेआई (F-7 BJI) लडाकु विमान दिउँसो १ः०६ बजे प्रशिक्षणका क्रममा उडेपछि केही समयमै दुर्घटनाग्रस्त भएको हो। यो पछिल्ला दशकमा भएको सबैभन्दा गम्भीर विमान दुर्घटना मानिएको छ। दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्। दुर्घटनापछि आगलागीसमेत भएको थियो। सुरक्षाकर्मी र दमकल टोलीले तत्काल उद्धार र आगो नियन्त्रणको प्रयास गरेका थिए।

एक विद्यार्थी शफिउर रहमान शफीले भने, “हामी खेलमैदानमा थियौं, अचानक ठूलो आवाज आयो, जमिन काम्पियो, अनि विमान खसेको थाहा पाइयो। त्यसपछि आगो लाग्यो र सेना आइपुग्यो।” सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। प्रधानमन्त्री मुहम्मद युनुसले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई “राष्ट्रका लागि अत्यन्त पीडादायक क्षण” भनेका छन्।

बंगलादेशमा यसअघि सन् १९८४ मा भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना मानिन्थ्यो।

–00–

Share:

सम्बन्धित समाचारहरु