मुग्लिङमा दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु

मुग्लिङ, ११ पुस । चितवन उद्योग संघ इच्छाकामना समिति तथा होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको आयोजनामा दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ सुरु भएको छ।

महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका पूर्व वातावरण मन्त्री तथा चितवन क्षेत्र नं. २ (क) का सांसद कृष्ण सिलवालले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले मुग्लिङ क्षेत्रले होटल तथा आतिथ्य व्यवसायमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सुन्तला महोत्सवले स्थानीय कृषक र रैथाने खानाको प्रवर्द्धनमा टेवा पुर्‍याउने बताउनुभयो।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले महोत्सवले सुन्तला कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी कृषकलाई उचित मूल्य दिलाउन सहयोग पुग्ने बताउनुभयो। चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले महोत्सवले स्थानीय कृषि उत्पादन र होटल व्यवसायलाई जोड्दै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने धारणा राख्नुभयो।

महोत्सव अवधिभर मुग्लिङ क्षेत्रका होटल तथा रेष्टुरेन्टहरूले खाना र बासमा कम्तीमा २० प्रतिशत छुट उपलब्ध गराएका छन्। साथै, फुड स्टल, सांस्कृतिक कार्यक्रम र राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

महोत्सवको दोस्रो दिन व्यावसायिक सुन्तला खेतीसम्बन्धी गोष्ठी आयोजना गरिने छ भने उत्कृष्ट सुन्तला कृषकलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु