साउनको पहिलो सोमबार देवघाटधाममा बोलबम मेला सुरु, श्रद्धालुको घुइँचो

चितवन,५ साउन । – साउन महिनाको पहिलो सोमबार, चितवनको पवित्र तीर्थस्थल देवघाटधाममा आजदेखि बोलबम मेला भव्य रूपमा सुरु भएको छ। बिहान ४ बजेदेखि नै श्रद्धालुहरू स्नानका लागि देवघाटधाममा आइपुगेका छन्।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार, हिजै साँझदेखि भक्तजनहरूको आगमन सुरु भएको थियो। उनीहरू बिहानै स्नान गरी शिवको पूजा गरेर पवित्र जल लिएर फर्किएका छन्।

मुख्यरूपमा आजको दिन व्रत बसेका श्रद्धालुहरू स्नान गरी बेलपत्र र पवित्र जल चढाएर भगवान शिवको आराधनामा लीन छन्। देवघाटसँगै भरतपुरको महाकालेश्वर, कैलाशनाथ महादेव, गैँडाकोटको गोपेश्वर, माडी, कालिका र रत्ननगर लगायतका शिवालयहरूमा पनि सोमबारे मेला लागेको छ।


महिलाहरू हरियो कपडामा सजिएका छन्। मेहन्दी र हरिया चुरा लगाएका व्रतालुहरू शिव दर्शन र पूजा गर्न बिहानैदेखि लाइनमा छन्। व्रत बस्नाले श्रीमान्को दीर्घायु, परिवारको सुख-समृद्धि, र अविवाहित महिलाले असल वर पाउने जनविश्वास रहेको स्थानीय मोहन पोखरेल बताउनुहुन्छ।

यसपटक मेलामा विशेष व्यवस्था:

  • देवघाट क्षेत्रमा धूमपान र मध्यपान निषेध

  • प्लास्टिकमुक्त अभियान सञ्चालनमा

  • अबिर, अक्षता, धूपबत्ती बोकेका प्लास्टिक झोला निषेध

  • प्रहरी र स्वयंसेवकहरूको बाक्लो उपस्थिति

  • श्रद्धालुको तथ्याङ्क संकलन समेत सुरू

Share:

सम्बन्धित समाचारहरु