मन्दिर प्रवेशमा लाग्ने शुल्क पूर्ण रूपमा खारेजगर्नुपर्ने सुझाव

मन्दिरमा प्रवेश शुल्क अस्वीकार्य: श्रीप्रसाद दवाडी

रेशम सापकोटा – सेतो नेपाल
चितवन- ४ साउन । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण माडी नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ बाट लागू गरिएको प्रवेश शुल्कले श्रद्धा र व्यवस्थापनबीचको सन्तुलनमाथि बहस चर्काएको छ। नगरपालिकाले नगर क्षेत्रभित्रका प्रमुख धार्मिक र पर्यटकीय स्थलहरूमा संरचना सुधार, व्यवस्थापन र पर्यटन प्रवर्द्धनको नाममा शुल्क लिन थालेपछि मन्दिर जाने भक्तजनहरूबीच तीव्र असन्तोष पैदा भएको छ।

शुल्क लागू गरिएका स्थलहरूमा सोमेश्वरगढी, वैकुण्ठधाम, अयोध्याधाम (राम मन्दिर), बाल्मीकि आश्रम, रेडहिल पार्क र पुष्पमदन स्मृतिवाटिका समावेश छन्। नेपाली पर्यटकका लागि २५ देखि ५० रुपैयाँ, विदेशीका लागि ५० देखि १०० रुपैयाँ र स्थानीय बासिन्दाका लागि १० रुपैयाँसम्मको शुल्क तोकिएको छ। बाउन्ड्री निर्माण नभएका केही स्थलहरूमा भने केही समयपछि मात्र शुल्क संकलन सुरु हुने जनाइएको छ।

 

पिकनिक स्थल प्रयोगका लागि ३०० देखि १,००० रुपैयाँसम्म, र फिल्म, म्युजिक भिडियो वा व्यावसायिक छायांकनका लागि प्रतिदिन १०,००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

तर पूजाआजा गर्न मन्दिर जाने श्रद्धालुहरूमाथि प्रवेशमै शुल्क लाग्नु विवादास्पद बन्दै गएको छ। यही सन्दर्भमा माडी नगरपालिका–६ लक्ष्मीबासमा अवस्थित पुष्पमदन स्मृतिवाटिकाका उपाध्यक्ष तथा होमस्टे महासंघ बागमती प्रदेशका सल्लाहकार श्रीप्रसाद दवाडीले मन्दिर प्रवेशमा लाग्ने शुल्क पूर्ण रूपमा खारेज हुनु आवश्यक रहेको बताउनुभयो ।

कुरा सेतो नेपालसँग कुराकानीमा उहाँले मन्दिरभित्र श्रद्धालुहरूले स्वेच्छाले चढाएको दानपेटीको रकम स्थानीय सरकारले संरचना मर्मत, व्यवस्थापन र सरसफाइका लागि संकलन गर्न सक्ने व्यवस्था उपयुक्त मानिन्छ, र त्यसमा कुनै आपत्ति नहुने बताउनुभयो । तर, मूल मन्दिर प्रवेशद्वारमै शुल्क लिनु भनेको श्रद्धा तौलिनु जस्तै भएकाले त्यो अस्वीकार्य छ-उहाँले भन्नुभयो ।

 

दवाडीको बुझाईमा -“मन्दिरमा भक्तजनले धर्म, आस्था र पितृको सम्झनामा चढाएको दान श्रद्धा हो। त्यसमा नगरपालिकाले जिम्मेवारीपूर्वक, पारदर्शी ढंगले संकलन र उपयोग गर्न सक्छ। तर भक्तजन पूजाका लागि मन्दिर प्रवेश गर्दा नै शुल्क तिर्नुपर्ने अवस्था भने धार्मिक परम्परा र संस्कारको अपमान हो।”

नेपालको धार्मिक इतिहासमा धेरै श्रद्धालुहरूले मन्दिर निर्माण, चौतारा, पाटीपौवा, धर्मशाला जस्ता संरचना आफ्ना पितृको सम्झनामा बनाएका छन्। “यदि श्रद्धा गर्न नै शुल्क तिर्नुपर्ने भयो भने, यस्ता धार्मिक कार्यप्रति निरुत्साह जाग्न सक्छ,” भन्ने उहाँको तर्क छ।

धार्मिक पर्यटनको सम्भावना बोकेको माडी क्षेत्र देशकै प्रमुख गन्तव्य बन्न सक्ने उल्लेख गर्दै, दवाडीले – सोमेश्वरगढी, अयोध्याधाम, वैकुण्ठधाम, बाल्मीकि आश्रम, रेडहिल पार्क जस्ता स्थलहरूले देशभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरूलाई आकर्षित गर्ने सामर्थ्य राख्नेमा जोड दिनुभयो ।

पर्यटन विकासले होमस्टे, होटल, यातायात, कृषि, माछापालन र स्थानीय उत्पादन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

तर धार्मिक पर्यटकको आगमन नबढ्नुमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारको लगानीको अभाव, प्रचारप्रसारको कमी, पूर्वाधारको कमजोरी, सूचना प्रवाहको अभाव र स्थानीय तहबीच समन्वयको कमी मुख्य चुनौती भएको उहाँको निष्कर्ष छ। हाल माडीमा पहुँच सहज भएको र पुलहरूको निर्माणपछि धार्मिक तथा आन्तरिक पर्यटकको चाप उल्लेखनीय रूपमा बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि दवाडीले अयोध्याधाम क्षेत्र विकास समिति गठन, सबै धार्मिक स्थल समेटिएको साझा योजना निर्माण, दैनिक पूजाआजा, भजन–कीर्तन, होमन कर्म सञ्चालन, सूचना बोर्ड र ब्रोसरमार्फत जानकारी प्रवाह, टुर प्याकेज निर्माण, होमस्टे तथा किसानलाई अनुदान, सामुदायिक वन क्षेत्रको ट्रेकिङ प्रयोग, निकुञ्जमार्ग पिच, रिउ करिडोर निर्माण, फलफूल तथा तरकारी खेती प्रवर्द्धनजस्ता कार्यक्रमलाई प्राथमिक हिसाबमा ल्याउनुपर्ने धारण व्यक्त गर्नुभयो।

त्यस्तै, छायांकन शुल्क प्रतिदिन १०,००० रुपैयाँ धेरै भएको भन्दै त्यसमा पुनरावलोकन आवश्यक भएको उहाँको सुझाव छ। हाल माडीमा दैनिक करिब ५०० जना अट्ने होमस्टे तथा होटल सेवा उपलब्ध छन्, जसलाई विस्तार गर्न स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। माडी प्रवेशद्वार नजिकै सूचना बोर्ड राख्ने, तीर्थस्थलहरूको चिनारी दिने, र तीर्थयात्रीलाई सुविधाजनक सूचना प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने, साथै स्थानीय किसानलाई तरकारी तथा फूल खेतीतर्फ आत्मनिर्भर बनाउने कार्यक्रम पनि समावेश गर्नुपर्ने उहाँको भनाइ रहेको छ।

दवाडीले अन्त्यमा भन्नुभयो, “विरोध गरेर मात्रै समस्या समाधान हुँदैन। यी स्थलहरू हाम्रो माडीको गहना हुन्। संरक्षण र प्रवर्द्धन गर्न सबैको सकारात्मक सोच जरुरी छ। श्रद्धा र व्यवस्थापनबीच सन्तुलन मिल्यो भने माडी धार्मिक पर्यटनको उज्यालो भविष्यतर्फ अघि बढ्न सक्छ।”

–00–

Share:

सम्बन्धित समाचारहरु