पर्वत, ,४ साउन । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा आइतबार बिहान गएको पहिरोले एक घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन्।
स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा पहिरोले पुरिएर बेपत्ता भएको वडा नम्बर ३ का सदस्य सन्तोष विकले जानकारी दिएका छन्। विकका अनुसार छविलालका कान्छी बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नासाथ ज्यान जोगाउन सफल भएकी छन्। “पहिरो खस्नेबित्तिकै उहाँले हम्फाल्नुभयो, त्यसैले उहाँ जोगिनुभयो,” विकले भने।
हाल स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्धार कार्य जारी राखेको र बेपत्ता दम्पतीको खोजी भइरहेकाे छ। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी टोली खटिएको र विस्तृत विवरण घटनास्थलमा पुगेपछि आउने बताएका छन्।
पछिल्ला केही घण्टादेखि पर्वत र आसपासका क्षेत्रमा लगातार भीषण वर्षा भइरहेको छ। वर्षाका कारण स्थानीय खोला–नाला तथा नदीहरूमा पानीको बहाव उच्च रहेको छ, जसले जोखिम बढाएको स्थानीयले बताएका छन्।


