प्रवासमा रहेका नेपालीहरुसँग हातेमालोगर्न नगरपालिका तयार छः मेयर रेग्मी

कालिका नगरपालिकाको विकास र सम्भावना बारे अमेरिकाको वासिङटन डिसीमा चर्चा

वासिङटन डिसी, ३ साउन । चितवनको कालिका नगरपालिकाको विकास र सम्भावना बारे अमेरिकाको वासिङटन डिसीमा चर्चा भएको छ ।

अमेरिकाको वाशिङ्टन डीसी नजिकैको फेयरफ्याक्स शहरमा ‘नेपालमा स्थानीय सरकार र विकासको मोडल’ विषयक अन्तरक्रिया कार्यक्रममा समग्र कालिका नगरपालिकाको विकास र सम्भावनाबारे चर्चा भएको हो । कार्यक्रममा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी समेत सहभागी थिए ।

प्रवासमा रहेका नेपाली समुदायसँग नगरपालिका हातेमालोगर्न समेत तयार रहेको नगर प्रमुख रेग्मीले बताए । सो अवसरमा मेयर रेग्मीले कालिका नगरपालिकामा हालसालै सुरु गरिएको स्मार्ट ठेगाना प्रणाली परियोजनाले नगरलाई स्मार्टमात्रै बनाउने काम होइन, सुन्दरपनि बनाउने विश्वास व्यक्त गरे ।

नेपालमै पहिलोपटक अमेरिकाको राजधानी वाशिङ्टन डीसीको जस्तै नमूना सडक नामकरण र घर नम्बर प्रणाली आफ्नो नगरपालिकामा सुरु गरिएको जानकारी दिए । मेयर रेग्मीका अनुसार यो प्रणाली कालिकाको पदमपुरवाट सुरु गरिएको छ । विस्तारै नगर क्षेत्रका सम्पूर्ण वडामा यो प्रणाली विकासहुनेछ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रेग्मीले प्रवासमा रहेका नेपालीहरुलाई चितवनको कालिका नगरपालिकामा लगानी समेतगर्न आग्रह गरे । लगानीको वातावरण बनाउन नगरपालिका तयार रहेको स्पष्ट पारे । कार्यक्रममा अमेरिका निवासी आईटी तथा साइबर सुरक्षा विज्ञ डा। रामहरी सुवेदीले सो परियोजनाबारे कार्यपत्र प्रस्तुत गर्दै, हालसम्मको प्रगति र आगामी योजनाबारे सहभागीहरूलाई जानकारी गराए।

कार्यक्रममा प्राध्यापक डा. विष्णु घिमिरेले स्थानीय सरकारहरूलाई प्रविधिमैत्री बनाउँदै २१औँ शताब्दी अनुकूल समावेशी र प्रभावकारी सेवा प्रवाहमा जोड दिनुपर्ने धारणा राखे।

मेयर रेग्मीले प्रस्तुत गरेको दृष्टिकोण अनुसार, ‘स्मार्ट ठेगाना प्रणाली’ केवल भौतिक पूर्वाधार विकास नभएर भविष्यको स्मार्ट प्रशासन, पारदर्शिता र सुशासनतर्फको यात्राको महत्वपूर्ण पाइला भएको दावी गरिएको छ । जिपिएस प्रविधिमार्फत नगरको नक्सांकन, सडक रेखांकन र नामकरण, मुख्य चोकहरूमा दिशानिर्देशक बोर्डहरू, र घरहरूमा डिजिटल नामांकन प्रणाली लागू गरिने जानकारी दिँदै उनले यस अभियानमा प्रवासी नेपालीहरूको ज्ञान, अनुभव र स्रोत साझेदारीको महत्त्वपूर्ण भूमिका हुने बताए।

कार्यक्रममा एनआरएनए एनसीसी युएसए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्की, पूर्व अध्यक्ष कृष्ण सादगी भण्डारी, डा। श्याम थापा, डा. देशराज संयोग, डा. योगेन्द्र पनेरु लगायत विशिष्ट व्यक्तित्वहरूले आ–आफ्नो धारणा राख्दै कालिका नगरपालिकाको यो पहलप्रति प्रशंसा जनाए। उनीहरूले प्रविधिमैत्री विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

‘मिट एण्ड ग्रिट विथ मेयर रेग्मी’ शीर्षकमा आयोजना गरिएको यो कार्यक्रमले नेपालमा स्थानीय सरकारको भूमिका, प्रविधिको उपयोग, र प्रवासी समुदायको योगदानबारे सकारात्मक बहस र सोच सिर्जना गरेको सहभागीहरूले उल्लेख गरेका छन्।

–00–

Share:

सम्बन्धित समाचारहरु