नाबालिका मृत्यु प्रकरण : अस्पताल प्रशासनको लापरबाहीप्रति एमालेको गम्भीर ध्यानाकर्षण

चितवन, २ साउन ।
भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर पाँच वर्षीया नाबालिकाको ज्यान गएपछि नेकपा एमाले चितवन स्वास्थ्य विभागले अस्पताल प्रशासनको गम्भीर लापरबाहीप्रति ध्यानाकर्षण गराएको छ।

विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पताल परिसरमा चिल्ड्रेन पार्क नजिकै निर्माण गरिएको ट्याङ्कीको ढक्कन खुल्ला छाडिएकाले दुर्भाग्यपूर्ण घटना भएको उल्लेख गरेको छ। सो ट्याङ्कीमा परी अस्पतालमै कार्यरत कर्मचारी दुर्गा बयाम्बो मगर (वकास मगर) की छोरी अञ्जना मगरको मृत्यु भएको थियो।

“अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सुरक्षा मापदण्डको ख्याल नगरी खेल्ने पार्कको छेउमै खुल्ला ट्याङ्की राख्नु गम्भीर लापरबाहीको पराकाष्टा हो,” विभाग प्रमुख प्रकाश भट्टले विज्ञप्तिमा उल्लेख गरेका छन्।

विभागले पीडित परिवारलाई दबाब दिने र अमूर्त आश्वासन दिने प्रयासको पनि विरोध जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै, मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्ने चेतावनी दिएको छ।

यसैबीच, अनेरास्ववियु चितवनराष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले पनि संयुक्त विज्ञप्ति जारी गर्दै अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) को राजीनामा माग गरेका छन्। उनीहरूले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको मागसमेत गरेका छन्।

 

Share:

सम्बन्धित समाचारहरु