काठमाडौं, १ साउन । विधान संशोधन, पदाधिकारी संख्यामा कटौती र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई जिम्मेवारी दिने विषयमा नेताहरूको धारणा राख्ने क्रम जारी रहेकाले नेकपा (एमाले) को सचिवालय बैठक अझै केही घण्टा लम्बिने भएको छ।
बैठक लम्बिने भएपछि केही समय खाजा खानका लागि बाहिरिएका नेताहरूले कम्तिमा दुई घण्टा बैठक अझै जारी रहने बताएका छन्।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा १९ सदस्यीय पदाधिकारी संख्यालाई घटाएर ११ जनामा सीमित गर्ने उल्लेख गरिएको छ। संशोधित प्रस्तावमा अध्यक्षसहित तीन उपाध्यक्ष, एक–एक महासचिव र उपमहासचिव तथा पाँच सचिव रहने व्यवस्था गरिएको छ।
हाल एमालेमा वरिष्ठ उपाध्यक्षसहित १९ जना पदाधिकारी छन्। पदाधिकारी संख्या कटौतीसँगै कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले असहमति जनाएका छन्।
सचिवालय बैठकमा विधान संशोधन अन्तर्गत ७० वर्ष उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्तावमाथि पनि छलफल भइरहेको छ। यद्यपि, ती प्रावधान हटाउनुपर्ने स्पष्ट आधार र तर्क प्रस्तुत हुनुपर्ने विषय उठेकाले छलफल लम्बिएको बैठकमा सहभागी एक नेताले जनाएका छन्।
यस्तै, १०औं सौराहा महाधिवेशनले केन्द्रीय सदस्य संख्या २२५ बाट बढाएर ३०१ पुर्याएको थियो। त्यसयता मनोनयनमार्फत थप सदस्यहरू समावेश गरिँदा संख्या अझै बढेको बताइएको छ।–00–


