-रेशम सापकोटा – सेतो नेपाल
चितवन, ३२ असार । अब चितवन जिल्लाका माडी र भण्डाराका नागरिकले पनि आफ्नै स्थानबाट आपराधिक उजुरी दर्ता गरी अनुसन्धान र कारबाहीको सेवा लिन सक्ने भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार यसअघि अपराध अनुसन्धान तथा कारबाहीको सेवा जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी र मुग्लिनबाट मात्र प्रदान हुँदै आएको थियो। सेवा विस्तारको उद्देश्यले अब इलाका प्रहरी कार्यालय भण्डारा र माडीलाई पनि अपराध अनुसन्धान गर्ने अधिकार प्रदान गरिएको छ।

“प्रहरी सेवा सर्वसुलभ, विकेन्द्रीकृत र जनमुखी बनाउन मिति २०८२ साल साउन १ गतेदेखि भण्डारा र माडी इलाका प्रहरी कार्यालयहरूमा अपराधको उजुरी दर्ता गरी अनुसन्धान तथा कानुनी कारबाही गर्न सकिने व्यवस्था गरिएको हो,” एसपी पुरीले जानकारी दिनुभयो ।
एसपी पुरीका अनुसार अब यी दुई इकाइबाट सम्बन्धित वडाभित्र हुने अपराधका उजुरी दर्ता, अनुसन्धान र कारबाहीको प्रक्रिया सोही स्थानबाट अघि बढाइनेछ। यसले प्रहरी सेवालाई जनताको पहुँचमा पुर्याउने र अपराध नियन्त्रणमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।
एसपी पुरीले भन्नुभयो, “कानुनी राज्यको मूल अवधारणाबाट निर्देशित प्रभावकारी अपराध नियन्त्रण, अनुसन्धान र कानुन कार्यान्वयनमार्फत समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा स्थापना गर्नु नै हाम्रो मूल मिशन हो।”
जिल्ला प्रहरी कार्यालय चितवनले सेवा विस्तारसँगै सम्बन्धित पालिकाभित्र बसोबास गर्ने नागरिकहरू, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला कार्यालयहरूसँग आवश्यक समन्वय र सहयोग गर्न पनि आग्रह गरेको छ।
उक्त सेवा विस्तार जिल्ला प्रहरी कार्यालय चितवन र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको अनुरोधअनुसार प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागबाट भण्डारा र माडी कार्यालयलाई अपराध अनुसन्धानको अधिकार प्रदान भएको हो।



