चितवन ३० असार । मानसिक रोगको उपचार, पुनर्स्थापना र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ।
संयुक्त राज्य अमेरिकामा रहेका मानसिक स्वास्थ्य क्षेत्रका चिकित्सक, परामर्शदाता र जनस्वास्थ्य विज्ञहरूको संस्था ‘नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ’को सहयोगमा केन्द्र स्थापना गरिन लागेको हो।
केन्द्र स्थापनाका लागि सोमबार भरतपुर अस्पताल र नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच सम्झौता भएको छ। सम्झौताअनुसार केन्द्र निर्माणमा लाग्ने अनुमानित पाँच करोड रुपैयाँ लागतमध्ये ५० प्रतिशत नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले, २५ प्रतिशत भरतपुर अस्पतालले र बाँकी २५ प्रतिशत विभिन्न दाताबाट जुटाइनेछ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने महसुसका साथ यो पहल गरिएको बताउनुभयो।
“नेपालमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नदेखिएको अवस्थामा हामीले यो काम अगाडि बढायौँ,” उहाँले भन्नुभयो।
केन्द्रले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामीहरूको उपचारसँगै आवश्यकता अनुसार पुनर्स्थापना सेवा र समुदायमा जनचेतना जगाउने कार्यसमेत गर्नेछ।
भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालको विकासका लागि केन्द्र एक कोसेढुङ्गा बन्ने बताउनुभयो। “चितवन आफैंमा मेडिकल सिटीको रूपमा विकास हुँदै गएको अवस्थामा मानसिक रोग उपचार केन्द्रले स्वास्थ्य क्षेत्रको सुधारमा टेवा पुर्याउने विश्वास लिएको छु,” उहाँले भन्नुभयो।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालमा देशभरका धेरै बिरामी उपचारका लागि आउने भएकाले छुट्टै मानसिक स्वास्थ्य केन्द्र आवश्यक भएको बताउनुभयो।
“अहिलेसम्म विभागमार्फत सेवा दिइएकोमा अब संस्थागत केन्द्र मार्फत सेवा विस्तार गरिनेछ,” उहाँको भनाइ छ।
भरतपुर अस्पतालमा हाल ट्रमा सेन्टर र स्पाइनल सेन्टर पनि छुट्टै केन्द्रका रूपमा विकास भइरहेका छन्। मानसिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि करिब डेढदेखि दुई वर्ष लाग्ने अनुमान गरिएको छ।


