फागुन २५ काठमाण्डौ । जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्रहरीले हरि उदासी भनिने हरि परियारलाई पक्राउ गरेको छ ।
पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा काठमाण्डौको भीमढुङ्गाका परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
यस्तै पल शाह प्रकरणमै जथाभाबी सामग्री प्रसारण गर्ने विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङ घर भइ काठमाण्डौको शेषमती बस्ने निशान चिलवाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै नाबालिगलाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहले बुधबार कावासोतीस्थित सरकारको वकिलको कार्यालयमा आफ्नो बयान दिएका छन्। कलाकार शाहलाई थप एक सातासम्म अनुसन्धानका लागि कावासोतीमै राखिने पूर्वी नवलपरासी प्रहरी कार्यालयका प्रवक्ता दिलीप गिरीले जानकारी दिए ।
ती नाबालिगले एउटा गीत छायांकनका क्रममा गत चैत ७ गते गैँडाकोटको एउटा होटलमा आफूलाई चाहिनेभन्दा बढी समय राखेर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन्।