काठमाण्डौ, ३ मंसिर ।
सरकारले राष्ट्रिय सम्मानका साथ प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट उनको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।
यस्तै, देशका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
ढुंगानाको निधनमा सरकारका तर्फबाट गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरिएको उनले जानकारी दिए ।
काठमाडौंको पशुपति आर्यघाटमा आजै ढुंगानाको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका निम्ति ज्ञानेश्वरस्थित सानोगौचरणमा राखिनेछ ।
८३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार (हिजो) दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।