शहर छाडेर गाउँ फर्किन बाध्य बनाउने माडी–८ को अयोध्यमार्ग: सभ्य समाजको जीवित उदाहरण ।

– रेशम सापकोटा – सेतो नेपाल
माडी, १७ असास । माडी नगरपालिका–८ को दक्षिण अयोध्यापुरीस्थित अयोध्यमार्ग पछिल्लो समय अनुशासन, स्वच्छता, धार्मिक चेतना, पूर्वाधार विकास र सामूहिक सहभागितामा आधारित आदर्श टोलको रूपमा स्थापित हुँदै गएको छ। जहाँ पहिले गाउँ छाडेर सहरतिर लम्किने चलन थियो, अहिले यो टोलले फेरि गाउँ फर्कन बाध्य बनाउने परिस्थितिको सिर्जना गरेको छ।

“समृद्ध समाजको आधार — टोलटोलमा सुव्यवस्थित पूर्वाधार” भन्ने नारालाई आत्मसात गर्दै यहाँका स्थानीयवासीले समुदायको विकासमा उदाहरणीय पहल देखाएका छन्।

फुलबारी आमा समूहको अगुवाइमा सञ्चालित सरसफाइ र रूपान्तरण अभियान माडी नगरभित्रकै प्रेरणादायी अभ्यास बनेको छ। टोलका सबै घरअगाडि हरियाली फूलबारी र स्वागतघडा राखिएको छ, जहाँ नित्य जल अर्पण गरिने परम्परा बसिसकेको छ। यसले धार्मिक चेतनासँगै आत्मिक अनुशासनको अभ्यासलाई बलियो बनाएको छ।

सडकका दायाँबायाँ लहरिएका नेपाली राष्ट्रिय झन्डाहरूले देशभक्तिको भावनालाई अझ गाढा बनाउँछ। बाटोको दुवैतर्फ ढुंगामा कुँदिएका चेतनामूलक सन्देशहरू, बाँसको डोका प्रयोग गरी फोहोर संकलन, प्लास्टिकजन्य वस्तुको पृथक व्यवस्थापन जस्ता अभ्यासहरूले टोलवासीको वातावरणप्रतिको जिम्मेवारीबोध प्रस्ट पारेको छ।

टोलभरि सफा, हरियाली र सौन्दर्यपूर्ण वातावरण छ। फोहोर, अराजकता वा अस्तव्यस्तताको नामोनिशान छैन। बाटोको छेउमा रङरोगन गरिएको ढुंगा मिलाएर सजाइएको छ, जुन सौन्दर्य र चेतनाको संयोजन हो।

शैक्षिक क्षेत्रको दृष्टिले समेत टोल अनुकरणीय छ। विद्यालय जाने सबै बालबालिकाको नियमित उपस्थिति सुनिश्चित गरिएको छ। सामाजिक अनुशासन र समुन्नत जीवनशैली टोलभरि फैलिएको छ।

अध्यक्ष सुजिता पाण्डे भन्नुहुन्छ, “सुरुमा हामी महिलाहरूबीच कुराकानीमै सीमित थियौं, तर सानो–सानो प्रयासलाई निरन्तरता दिँदै जाँदा अहिले हाम्रो टोलले अनुशासन र स्वच्छताको उदाहरण नै स्थापित गरेको छ। हामीले आफू बस्ने ठाउँलाई माया गर्न थालेपछि परिवर्तन सम्भव रहेछ भन्ने थाहा पायौं।”

समूहमा हाल टोलभित्रका २५ घरधुरी आबद्ध छन्। समूहले नियमित बैठक, वार्षिक कार्ययोजना, कार्यविभाजन, पारदर्शी बजेट व्यवस्थापन लगायतका अभ्यासलाई विशेष प्राथमिकतामा राख्दै आएको छ। देउसी भैलो, धार्मिक कार्यक्रम, सहयोग कोष सञ्चालन, सामूहिक खेती जस्ता विविध कार्यहरूबाट सामाजिक तथा आर्थिक सशक्तीकरणमा उल्लेखनीय सफलता हासिल गरिएको छ।

सामूहिक खेती अन्तर्गत अहिले टोलको बारीमा मकै उत्पादन गरिएको छ, जहाँ अघिल्लो वर्ष आलु खेती गरिएको थियो। महिलाहरूको श्रम, समर्पण र सहकार्यले यस्ता कृषि कार्यक्रमहरूलाई सफलता दिलाएको छ।

“हाम्रो टोल, हाम्रो गौरव” भन्ने नारालाई व्यवहारमा उतार्दै टोलले आत्मनिर्भर जीवनशैलीको अभ्यास गरिरहेको छ।

सचिव शोमा पन्त भन्नुहुन्छ, “हाम्रो टोलको परिवर्तन केवल सरसफाइ र हरियालीमा सीमित छैन। यहाँको सोच र व्यवहार नै परिवर्तन भएको छ। सबै सदस्यहरू मिलेर काम गर्न थालेपछि नै आजको अयोध्यमार्ग बनेको हो।”

सहयोग प्राप्त गर्ने व्यक्तिहरूको नाम सार्वजनिक सूचना बोर्डमा उल्लेख गरिने परम्पराले पारदर्शिता र विश्वास निर्माणमा मद्दत पुगेको छ। मर्दापर्दा एकअर्कामा सहयोग गर्ने संस्कार अझ गहिरिएको छ।

अहिले टोलमा सामूहिक होमस्टे सञ्चालनको तयारी भइरहेको छ। धार्मिक, सांस्कृतिक र मौलिक ग्रामीण जीवनशैली अनुभव गराउने उद्देश्यले टोललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ। यसका लागि स्थानीय तथा प्रदेश सरकारसँग सहकार्यको पहल गरिएको छ।

सडकको छेउमा रङरोगन गरिएको ढुंगा, फूलले सजिएको आँगन, राष्ट्रिय झन्डाले सजिएको बाटो, चेतनामूलक सन्देश, स्वच्छ फोहोर व्यवस्थापन, अनुशासित जीवनशैली, पारदर्शिता र आपसी सहयोगको भावना देख्दा यहाँ आउने जो–कोही आगन्तुक चकित हुने गर्छन्। माडीका विभिन्न टोलबाट महिला समूह, विद्यार्थी, सामाजिक कार्यकर्ता र पर्यटकहरू यहाँ अवलोकन भ्रमणमा आउँछन्। उनीहरूले फोटो खिच्छन्, प्रशंसा गर्छन् र टोलवासीको प्रयासलाई खुलेर सलाम गर्छन्।

यस अभियानमा वाग्मती प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति माननीय ठाकुरप्रसाद ढकालबाट ब्यक्तिगत रूपमा ५० थान बहुवर्षीय फूलका बिरुवा निःशुल्क प्रदान गरिएको थियो। माडी नगरपालिकाबाट ३० थान कुर्सी सहयोग प्राप्त भएको छ। भक्तपुर निवासी अमिर कुस्माले अयोध्यमार्ग प्रवेश गेट निःशुल्क निर्माण गरिदिएका छन्। देउसी भैलो समूह, सदस्य परिवार,स्थानीय तथा वैदेशिक रोजगारमा रहेका स्थानीय युवा–युवतीहरूबाट जन्मदिन, विवाह, उत्सव र शुभकार्यको अवसरमा स्वैच्छिक सहयोग प्राप्त हुँदै आएको छ।

आज अयोध्यमार्ग सामूहिक चेतना, अनुशासन, वातावरणीय सजगता र महिला नेतृत्वमा आधारित सामाजिक रूपान्तरणको ज्वलन्त प्रतीक बनेको छ। “सभ्य समाजको निर्माण गाउँको आधारबाट सुरु हुन्छ” भन्ने दर्शनलाई व्यवहारमा उतार्दै, अयोध्यमार्गले माडी नगरका अन्य टोलहरूलाई समेत अनुकरण गर्ने प्रेरणा प्रदान गरिरहेको छ।

साझा सपना, साझा समर्पण र साझा सफलताको सजीव प्रतीक बनेको अयोध्यमार्ग, अब माडी नगरको समृद्ध र सभ्य समाज निर्माण यात्रामा अनुकरणीय उदाहरण सावित हुँदै गएको छ।

Share:

सम्बन्धित समाचारहरु