– रेशम सापकोटा — सेतो नेपाल
माडी, २८ असार । माडी नगरपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको वाल्मीकि आश्रम क्षेत्रका बासिन्दा दशकौँदेखि राज्यको नजरबाट ओझेलमा परेका छन्। करिब १४ घरपरिवारका ४० जना स्थानीयहरू आधारभूत आवश्यकता—बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा—बिनै, जङ्गली जनावर, हुरीबतास र सामाजिक उपेक्षाको त्राससँगै जिउन विवश छन्।
न विद्यालय छ, न स्वास्थ्यचौकी। सामान्य रोग लाग्दा पनि उनीहरू घण्टौँ पैदल हिँडेर भारत पुग्न बाध्य छन्। “हाम्रो आफ्नै देशमा हामीलाई दोस्रो दर्जाका नागरिकसरह व्यवहार गरिन्छ,” स्थानीय मङ्गल बहादुर चिडी मगर भन्छन्।

निरीक्षण टोलीको भ्रमण र मौखिक प्रतिबद्धता
स्थानीयको पीडा बुझ्न वैदिक सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ, माडी चितवन समितिको पहलमा माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोसहितको टोली अघिल्लो वर्ष वाल्मीकि आश्रम पुगेको थियो। दुई दिनको स्थलगत भ्रमणपछि टोलीले “छाना टिनले फेर्ने, बालबालिकालाई शिक्षाको पहुँच पुर्याउने” प्रतिवद्धता जनायो। तर बजेट अभावका कारण ती योजना केवल बोलीमै सीमित भए। यस वर्ष पनि नगर बजेटमा आफूहरूको पीडा समेटिने आशामा स्थानीयहरू बसेका छन्।
गौरवशाली इतिहास, बेवास्तामा वर्तमान
“राजाका पालामा हामीलाई राष्ट्रिय निकुञ्जबाटै सेवा सुविधा मिल्थ्यो,” पुजारी रामशरण गिरि भन्छन्, “तर राजसंस्था हटेपछि त्यो सब बन्द भयो।”
स्थानीय कला क्षेत्री सुनाउँछिन्, “पहिला राजा आउँथे, संरक्षणमा ध्यान दिन्थे। अहिले न राज्यले हेर्छ, न जनावरको त्रासबाट उन्मुक्ति पाएका छौँ।”
नेपालतर्फको झोलुङ्गे पुल चितवन राष्ट्रिय निकुञ्जले ‘असुरक्षा’ को कारण देखाएर बन्द गरेपछि आश्रमसम्मको सिधा बाटो अवरुद्ध भएको छ। अब भक्तजन र बासिन्दालाई अर्को प्रदेश हुँदै भारतको बाटो समातेर जानुपर्ने बाध्यता छ। “नेपालकै धार्मिक स्थल पुग्न विदेशी भूमि टेक्नुपर्ने अवस्था अत्यन्तै दुःखद छ,” भन्छन् नवलपरासीका वरिष्ठ पत्रकार आर.सी. उपाध्याय।
वाल्मीकि आश्रम: श्रद्धा र संस्कृतिको धरोहर
वाल्मीकि आश्रम केवल एक दुर्गम धार्मिक स्थल होइन—हिन्दू धर्मशास्त्रअनुसार यहि महर्षि वाल्मीकि तपस्यामा लीन थिए, यहीँ रामायण रचना भयो, वनवास गएकी माता सीता यहीं आश्रित भइन् र लव–कुशको जन्म यहीँ भएको धार्मिक विश्वास छ।
त्यसैले यो स्थल नेपाल–भारतभरिका श्रद्धालु, साधु–सन्त, अध्ययनकर्ता र तीर्थयात्रीहरूको आस्थाको केन्द्र हो।
स्थानीय माग: अस्तित्वको आधार
स्थलगत भ्रमणमा स्थानीयहरूले पानी, बत्ती, शिक्षा, स्वास्थ्य, सुरक्षित बास र झोलुङ्गे पुल सञ्चालन जस्ता सुविधाको माग राखे। उनीहरूले पुस्तौँदेखिको बसोबासको कानुनी स्वामित्व, पुजारी र सेवकका लागि पारिश्रमिक र क्षेत्रको धार्मिक–पर्यटकीय विकासको माग समेत गरे।
कानुनी अड्चन र बन्द फाइल
माडी नगरपालिका–१ स्थित पाँच पाण्डवदेखि आश्रमसम्मको बाटो खोल्न बजेट विनियोजन गरिए पनि योजना चितवन राष्ट्रिय निकुञ्ज ऐनसँग ठोक्किएको छ। ऐन संशोधन नभएसम्म योजना फाइलमै थन्किने देखिन्छ।
यद्यपि बाटो खुलेमा यसले बासिन्दा मात्रै होइन, देश–विदेशका श्रद्धालु, शोधार्थी र पर्यटकहरूलाई सहज यात्राको सुविधा दिन्छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्दै माडीको आर्थिक, सांस्कृतिक र सामाजिक समृद्धिमा टेवा पुर्याउँछ।
अधुरै छन् आश्वासन
सेतो नेपालले उपमेयर खेमप्रसाद महतोसँग टेलिफोनमा सम्पर्क गर्दा उनले भने, “जसरी भए पनि यो वर्ष घरको खर हटाएर टिन लगाइन्छ। अन्य कामहरू पनि प्राथमिकतामा छन्।”
तर अघिल्लो वर्षै प्रतिवद्ध गरिएको प्रोड शिक्षा कार्यक्रम अझै कार्यान्वयनमा आउन सकेको छैन। यस्ता अधुरा आश्वासनले बासिन्दालाई झन् निराश तुल्याएको छ।
धार्मिक मार्गमै अड्चन
त्रिमुणी नदी पार गर्दै झोलुङ्गे पुल भएर वाल्मीकि आश्रम पुग्ने पूरानो धार्मिक मार्ग अहिले बन्द छ। यस कारण भक्तजनलाई भारतको भूमिमा टेक्न बाध्य बनाइएको छ। यस्तो अवस्था आस्था र श्रद्धामाथिको घात मात्र होइन, राष्ट्रको गरिमा र नागरिक अधिकारप्रति गम्भीर चुनौती पनि हो।
श्रद्धा बाँकी छ, गरिमा खोज्दैछ
यी बासिन्दाहरू आफैँले विपत्ति भोग्दै, राज्यको ध्यान नपाउँदै, मन्दिरको सेवा र संरक्षण गरिरहेका छन्। उनीहरूकै समर्पणले पूजाआजा, सरसफाइ, व्यवस्थापन वर्षौँदेखि चलिरहेको छ। तर उनीहरूको जीवनस्तर भने उस्तै—अन्धकार, अभाव र बेवास्तामा अल्झिएको छ।
राज्यको ध्यान कहिले पुग्छ भन्ने आशामा उनीहरू अझै श्रद्धामा बाँचेका छन्। श्रद्धा बाँकी छ, भरोसा बाँकी छ — तर अब त्यो श्रद्धालाई सम्मान, सेवा र व्यवहारिक विकासमार्फत उत्तर दिने समय आएको छ।


