मुनामदन अब माडीमा — परिवर्तन कार्कीको निर्देशनमा रंगमञ्चमा बोल्नेछ देवकोटाको अमर कथा

माडी,२५ असार। —नेपाली साहित्यको आत्मा जस्तै बनिसकेको खण्डकाव्य “मुनामदन” अब माडीमा रंगमञ्चमार्फत जीवित हुँदैछ।

साहित्य, रंगकला र शिक्षाको समिश्रणमार्फत सामाजिक चेतना जगाउने लक्ष्यसहित पोखरा थिएटरद्वारा सञ्चालनमा आएको Edustage–२०८२ अन्तर्गत यो नाटक माडीमा मञ्चन हुन लागेको हो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी सिर्जनामा आधारित यस प्रस्तुतीलाई युवा रंगकर्मी परिवर्तन कार्कीले परिकल्पना तथा निर्देशन गरेका छन्। पोखरा थिएटर र माडी रंगमञ्चको संयुक्त आयोजनामा प्रस्तुत हुन लागेको नाटकमा WorldLink इन्टरनेट साझेदारको रूपमा सहभागी हुनेछ।

परिवर्तन कार्कीको निर्देशनमा तयार भएको “मुनामदन” केवल एउटा नाटक होइन — त्यो हाम्रो समाज, संस्कार र संवेदनाको सजीव चित्र हो। वर्गीय भेद, प्रेम, पीडा, त्याग र नेपाली आत्माको कथा बोकेको यो प्रस्तुति शिक्षामूलक र भावनात्मक दुवै रूपमा सशक्त हुनेछ।

यस नाटकले विशेष गरी विद्यालयका विद्यार्थी, युवावर्ग, शिक्षक, अभिभावक र साहित्यप्रेमीहरूलाई लक्षित गर्दै, हाम्रो मौलिकता र मानवीय मूल्यमा पुनः जागरण ल्याउने अपेक्षा गरिएको छ।

नाटक मञ्चनको मिति र स्थान छिट्टै सार्वजनिक गरिने माडी रंगमञ्चका अध्यक्ष सुमन तिमिल्सिनाले जानकारी दिएका छन्।

कार्यक्रमको सन्दर्भमा सुमन तिमिल्सिना भन्छन्

“‘मुना मदन’ हेर्नु केवल कथा हेर्नु होइन, त्यो त आफ्नै संस्कृतिको ऐना हेरिरहनुजस्तै हो। शब्द र अभिनयमार्फत दर्शकको आत्मासम्म पुग्ने प्रस्तुति हुनेछ।”

—00–

Share:

सम्बन्धित समाचारहरु