उपमेयर डंगोलको अपिल — “बजेट प्रक्रिया संयमतापूर्वक अघि बढाऔँ”

काठमाडौं, असार २३ — काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनको दायराभित्र रहेर संयमतापूर्वक बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन्।

आज सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै डंगोलले भावनामा बहकिने होइन, जिम्मेवार तरिकाले अगाडि बढ्न आग्रह गरेकी हुन्। “हामीले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,” उनले लेखेकी छन्।

उपमेयर डंगोलले महानगरको हितका लागि सबै जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै भनेकी छन्, “डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ। हामी सबै हातेमालो गरेर अघि बढौँ।”

काठमाडौं महानगरपालिकामा चालु आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा पछिल्लो समय उत्पन्न विवादका बीच उपमेयर डंगोलको यस्तो सन्देश सार्वजनिक भएको हो।

 

Share:

सम्बन्धित समाचारहरु