– कारी महतो
खैरहनी । पुस ३० — ११औँ संस्करणको खिचरा महोत्सवमा प्रवेश गर्ने बित्तिकै मूल गेट अगाडि उभिएका दुई रुख र मन्दिरको उत्तरपट्टि रहेको आर्ट ग्यालरीले अवलोकनकर्ताको ध्यान तानिरहेको छ । प्रदर्शनीमा राखिएका मनमोहक पेन्टिङ र विविध कलाकृतिले दर्शकलाई क्षणभर टक्क अडिन बाध्य बनाउँछन् ।

नजिकै गएर नियाल्दा र प्रदर्शकसँग संवाद गर्दा उनीहरू झन् उत्साहित देखिन्छन् । त्यो आकर्षक आर्ट ग्यालरी खैरहनी–८ मा स्थापना गरिएको ‘आर्टिमुन्स स्टुडियो’ का सिर्जनाहरूको प्रदर्शनी हो, जसलाई सुमिना चौधरी, सरीना चौधरी र गुराँस ढुंगाना—तीन सृजनशील युवती कलाकारले संयुक्त रूपमा सञ्चालन गरेका छन् ।
महोत्सव अवधिभर उनीहरूले आफैंले बनाएका पेन्टिङ तथा कलाकृतिहरूको बिक्री–वितरण गरिरहेका छन्।
साथै, अवलोकनकर्ताको उत्साह बढाउँदै फेसपेन्टिङ सेवा पनि प्रदान गरिरहेका छन्, जसले विशेषगरी बालबालिका र युवापुस्तालाई आकर्षित गरेको छ ।

सुमिना र सरीना चौधरी दिदीबहिनी हुन्। उनीहरू राप्ती नगरपालिका वडा नं. ६, बेल्डिहा निवासी हुन् र दुवैले ललितकला क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका छन् । स्नातकपछि विभिन्न विद्यालयमा आर्ट शिक्षकका रूपमा अध्यापन गर्ने क्रममा उनीहरूको भेट अर्की कलाकार गुराँस ढुंगानासँग भयो। गुराँस खैरहनी नगरपालिका वडा नं. ३, लदरी निवासी हुन् र हाल सोही विषयमा स्नातक तहमा अध्ययनरत छिन् ।

सुमिना चौधरी हाल सैनिक आवासीय महाविद्यालयसहित विभिन्न विद्यालयमा आर्ट शिक्षकका रूपमा कार्यरत छिन् भने सरीना चौधरी ग्लोसाइन एकाडेमीमा अध्यापनरत छिन्। गुराँस ढुंगाना रत्ननगरस्थित शिक्षा विकास बोर्डिङ स्कुल र खैरहनीको ओसियन एकाडेमीमा आर्ट शिक्षकको रूपमा कार्यरत छिन् ।

तीनैजनाको संयुक्त लगानी र सिर्जनात्मक सपनाबाट खैरहनी नगरपालिका वडा नं. ८ मा आर्टिमुन्स स्टुडियो स्थापना गरिएको हो। स्टुडियोमा चित्रकला तथा पेन्टिङ सिकाइनुका साथै उनीहरूले तयार पारेका आकर्षक पेन्टिङ र कलाकृति सामग्रीहरूको बिक्री पनि हुँदै आएको छ। घर, विद्यालय तथा क्याफेहरूमा आकर्षक वालपेन्टिङ गर्नु उनीहरूको अर्को विशेषता हो।

साथै, विभिन्न उमेर समूहका विद्यार्थीहरूका लागि चित्रकला र पेन्टिङसम्बन्धी विशेष कक्षाहरू पनि सञ्चालन गर्दै आएका छन् ।
खिचरा महोत्सवमा आर्टिमुन्स स्टुडियोको उपस्थितिले महोत्सवलाई थप रङ्गीन बनाएको छ। युवती कलाकारहरूको सिर्जनशीलता, आत्मविश्वास र उद्यमशीलताले स्थानीय कला क्षेत्रलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको देखिन्छ ।–000–


