चितवन,२० असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आगामी निर्वाचनमा पूर्वी चितवनका तीनवटै पालिका र खैरहनी नगरपालिकाका १३ वटै वडा जित्ने दाबी गरेका छन्।
रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा खैरहनीमा आयोजित भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै सांसद ढकालले जनताको विश्वास र पार्टीको सुशासनप्रतिको प्रतिबद्धताले उक्त लक्ष्य सम्भव हुने दाबी गरे।
रास्वपा निर्वाचन क्षेत्र समिति, चितवन–१ द्वारा आयोजित कार्यक्रममा ढकालले भने, “हामीले जनताको मन जितेका छौं। पूर्वी चितवनका तीन पालिका र खैरहनीका सबै वडा हाम्रो हुनेमा विश्वस्त छु।”
उनले जनताको साथ, स्थानीय विकासका कामहरू र पार्टीप्रतिको विश्वासका कारण आगामी निर्वाचनमा राम्रो सफलता मिल्ने बताए। “यहाँका जनताले तिरेको करबाट आएको बजेट यहीँको विकासमा खर्च हुँदैछ। यो नेताहरूले आफ्नो सम्पत्ति बेचेर ल्याएको होइन,” उनले प्रस्ट पारे।
ढकालका अनुसार कंकाली जाने बाटो निर्माण र कंकाली माई मन्दिरको विकासका लागि बजेट विनियोजन भइसकेको छ। उनले भने, “वर्तमान सरकारबाट बजेट निकाल्न बाघको मुखबाट खोसेजस्तै हो। तर पनि विकासमा कुनै कसर बाँकी राख्दिनँ।”
निर्वाचनको बेला आफूले ठूला सपना बाँडेर नभोट मागेको स्मरण गराउँदै ढकालले भने, “मैले सामान्य योजना र किसानका मुद्दा उठाउँछु भनेको थिएँ, त्यो पूरा गरिरहेको छु।”
उनले पूर्वी चितवनका जनता र किसानका समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको रास्वपाको मूल मर्म सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँ भएको उल्लेख गरे। “हामी भ्रष्टाचारविरुद्धको अभियानमा अडिग छौं। सदनमा निरन्तर आवाज उठाइरहेका छौं,” सांसद ढकालले जोड दिए।


