चितवन । कालिका नगरपालिकाभित्र आर्थिक वर्ष २०८२/०८३ मा ८३ हजार नागरिकले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रममा एक वर्षको अवधिमा नगर क्षेत्रभित्र रहेका विभिन्न स्वास्थ्य संस्थामार्फत ८३ हजार नागरिकले स्वास्थ्य सेवा लिएको जानकारी दिइएको हो।
नगरपालिकाभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट प्रदान गरिने नियमित स्वास्थ्य सेवा, उपचार, स्वास्थ्य प्रवर्द्धन तथा रोग नियन्त्रणका कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य शाखाले जनाएको छ। वार्षिक समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालन गरिएका स्वास्थ्यसम्बन्धी कार्यक्रम, प्राप्त उपलब्धि, सेवा प्रवाहको अवस्था, देखिएका समस्या तथा चुनौती र आगामी वर्षका योजनाबारे विस्तृत समीक्षा गरिएको थियो।
समीक्षा कार्यक्रममा नगरक्षेत्रभित्र रहेको एकमात्र नगर अस्पताल कालिका नगर अस्पतालबाट प्रदान हुँदै आएका सेवा सुविधाबारे समेत जानकारी दिइएको थियो। अस्पतालमा नियमित स्वास्थ्य सेवासँगै हप्तामा दुई दिन भिडियो एक्स–रे सेवा सञ्चालनमा रहेको तथा बालरोग र स्त्रीरोगका विशेषज्ञ चिकित्सकबाट विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको जानकारी दिइएको छ। पछिल्लो समय अस्पतालमा दन्त सेवा (डेन्टल) समेत सञ्चालनमा आएको जनाइएको छ।
नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ। यस्तै, स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च उपलब्ध गराई प्रोत्साहन गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

कुपोषणको समस्या भएका बालबालिकाको उपचारका लागि सिद्धी स्वास्थ्य चौकी र शक्तिखोर स्वास्थ्य चौकीमा ओटिसी (OTC) केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। कालिका नगरपालिकाका सबै वडामा वैशाख १५ गतेदेखि ३० गतेसम्म बालबालिकाको पोषण लेखाजोखा गरिएको थियो। पोषण लेखाजोखाका क्रममा उपचार आवश्यक देखिएका बालबालिकालाई ओटिसी केन्द्रमा भर्ना गरी उपचार सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य संस्थाको प्रशासनिक तथा व्यवस्थापकीय पक्षलाई समेत व्यवस्थित बनाउने प्रयास गरिएको कार्यक्रममा जानकारी दिइएको थियो। जिन्सी व्यवस्थापन, स्वास्थ्यसम्बन्धी सूचना व्यवस्थापन तथा कर्मचारीको विद्युतीय हाजिरीलाई अनलाइन प्रणालीमार्फत सञ्चालन गरिएको जनाइएको छ।
यसैगरी, नगरपालिकाभित्र आर्थिक वर्ष २०८२/०८३ मा ३९८ जना सुत्केरी महिलाको घरमै पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गरिएको थियो। सुत्केरीपश्चात् आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे दुई पटक घरमै पुगेर परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ। यसले सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्थाको नियमित निगरानी गर्न सहयोग पुगेको बताइएको छ।
नगरपालिकाले स्वास्थ्य संस्था तथा अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गरी स्वास्थ्य सेवाको गुणस्तर सुधारमा समेत जोड दिएको छ। स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवाको स्तर, व्यवस्थापन, पूर्वाधार तथा सेवा प्रवाहलाई मापदण्डअनुसार व्यवस्थित गर्ने कामलाई प्राथमिकता दिइएको कार्यक्रममा जानकारी दिइयो।

स्वास्थ्य सेवा प्रवाह र संस्थागत कार्यसम्पादनका हिसाबले पनि कालिका नगरपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को मूल्यांकनमा शक्तिखोर स्वास्थ्य चौकी र पदमपुर स्वास्थ्य चौकी क्रमशः चितवन जिल्लामा प्रथम र दोस्रो स्थान हासिल गर्न सफल भएका छन्।
यस्तै, कालिका नगरपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भइसकेको छ। नगरपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य सूचकहरूको पालिकास्तरीय मूल्यांकनमा पनि कालिका नगरपालिका चितवनका सातवटै स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको जानकारी दिइएको छ।
स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तारतर्फ समेत काम भएको जनाइएको छ। कालिका नगरपालिका–२ मा रहेको स्वास्थ्य संस्थामा २५ हजार रुपैयाँ क्षमताको तालिम हल निर्माण गरिएको छ। यसबाट स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाका लागि तालिम, अभिमुखीकरण तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाहरूले एक वर्षको अवधिमा प्रदान गरेका सेवा, कार्यक्रम कार्यान्वयनको अवस्था, प्राप्त उपलब्धि तथा चुनौतीबारे विवरण प्रस्तुत गरेका थिए। साथै, आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर सुधार तथा नागरिकलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउने विषयमा छलफल गरिएको थियो।
सामाजिक विकास समितिका प्रमुख मकरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रशासक प्रमुख निर्मल घिमिरे, वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्ष, कालिका नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) जीवन खरेललगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारसँगै आगामी दिनमा देखिएका चुनौती समाधान गर्ने, स्वास्थ्य संस्थाको व्यवस्थापन थप प्रभावकारी बनाउने तथा नगरवासीलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा जोड दिइएको थियो।
स्वास्थ्य क्षेत्रमा प्राप्त यी उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिने हो भने कालिका नगरपालिकाका नागरिकले स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता थप कम हुने अपेक्षा गरिएको छ।




