चितवन । ‘समृद्ध कालिका, सुखी कालिकाबासी’ भन्ने मुल नारासहित अघि बढिरहेको चितवनको कालिका नगरपालिकाले उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै लघु उद्यमसम्बन्धी तालिमका लागि सूचना सार्वजनिक गरेको छ।
नगरपालिकाले गरिबी निवारणका लागि सञ्चालन भइरहेको लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत ८ दिने उद्यमशीलता तालिम सम्पन्न गरिसकेका, आगामी सीप तालिम छनोटका लागि मनोनयन गरिएका तथा अन्य कारणले सीप तालिम छुटेकाहरूलाई लक्षित गर्दै सूचना जारी गरेको हो।
नगरपालिकाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको सूचनामा उद्यमशीलता तथा सीप तालिम लिन इच्छुक व्यक्तिहरूलाई १० दिनभित्र नगरपालिकाको उद्यम विकास शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
उद्यम विकास शाखा अधिकृत तथा सूचना अधिकारी प्रकाशचन्द्र पौडेलका अनुसार, तालिमसम्बन्धी विस्तृत जानकारीका लागि उद्यम विकास सहजकर्ता शर्मिला बश्यालसँग ९८६०३८९६८९ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
नगरपालिकाको भनाइअनुसार, सीपमूलक तथा उद्यमशील तालिममार्फत स्थानीयस्तरमा आत्मरोजगार बढाउने र आर्थिक सशक्तीकरणमा टेवा पु–याउने अपेक्षा गरिएको छ।
नगरपालिकाले यसअघि पनि स्थानीयलाई उद्यमशील बनाउन विभिन्न खालका सीप मूलक तालिमहरु आयोजना गर्दै आएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए । उनका अनुसार पाककला, व्यूटीपार्लर, सिलाईकटाई, कपाल काट्ने तालिम लगायत दर्जनौं सीपमूलक तालिम आयोजना भइसकेको छ । तालिम लिन छुटेकाहरुलाई लक्षित गरेर यो पटक फेरि सीपमूलक तालिम आयोजनागर्न लागिएको उनले बताए । नगरक्षेत्रभित्रका हरेक नागरिक उद्यमशील हुन आवश्यक छ उनले थपे -सीपको विकास भएमात्रै स्थानीयतह सम्बृद्ध हुन सक्छ ।


