प्राचीन जलस्रोतको रुपमा रहेको माडीको ‘बुलबुले’ मूलपानी संरक्षणको प्रतीक्षामा

– रेशम सापकोटा — सेतो नेपाल
माडी, ,१९ असार ।  चितवनको माडी नगरपालिका–७, जगन्नाथपुरस्थित ‘बुलबुले’ प्राचीन जलस्रोत दशकौँदेखि स्थानीय जीवनसँग अभिन्न रूपमा जोडिएको छ। जमिनको सतहमै रहेका दसवटा प्राकृतिक मूलबाट निरन्तर बगिरहने शुद्ध पानीले यहाँका बासिन्दाहरूको तिर्खा मेटाउनुका साथै दैनिक जीवन सञ्चालनमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।

इनार, धारो वा ट्याङ्की नहुँदाको समयदेखि नै वरपरका बस्तीहरू यही मूलमा निर्भर रहँदै आएका थिए। यही मूलको पानीबाट बनेको सानो कुण्ड पछिल्लो समय ‘कमलकुण्ड’ नामले परिचित भएको छ। शुद्धता, पवित्रता र प्राकृतिक सौन्दर्यको प्रतीक मानिने यो जलस्रोत धार्मिक, ऐतिहासिक तथा पुरातात्विक दृष्टिले समेत विशेष महत्व बोकेको छ। यहाँ आजसम्म पनि परम्परागत भूमिपूजाको परम्परा जीवित छ।

स्थानीय जेष्ठ नागरिक ददीराम सुबेदी सम्झनुहुन्छ, “माडी क्षेत्रमा बसाइँ सर्दा हामी पानीको खोजीमा थियौँ, अनि यसै क्रममा यो पवित्र मूल भेटिएको थियो। त्यहीदेखि हाम्रो जीवन यहींसँग गाँसिएको हो।” उहाँका अनुसार बुलबुले केवल पानीको स्रोत मात्र नभई माडीको सांस्कृतिक आस्थाको केन्द्र हो, जसको सम्मान र संरक्षण अत्यन्त आवश्यक छ।

स्थानीय समुदायले विगतदेखि नै सरसफाइ, वृक्षारोपण, चौतारा, सिँढी तथा सतल निर्माणजस्ता प्रयासहरू गर्दै आएको छ। प्रदेश सरकारको बजेटमा आधारित सडक, पुल र नाली जस्ता पूर्वाधारले यहाँसम्मको पहुँच पनि सहज बनाएको छ।

तर दीर्घकालीन संरक्षणका लागि अझै स्पष्ट योजना र वैज्ञानिक दृष्टिकोणको खाँचो देखिएको छ। देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च, भरतपुर चितवनका अध्यक्ष पूर्णप्रसाद पोखरेल भन्नुहुन्छ, “बुलबुले जस्तो ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदा संरक्षणका लागि नियमित निगरानी, कानुनी सुरक्षा र समुदायको सक्रिय सहभागिता अनिवार्य छ। चेतनाको कमी, सरकारी ध्यानको अभाव र व्यवस्थापनको कमजोरीका कारण यो धरोहर संकटमा पर्न सक्ने खतरा स्पष्ट देखिएको छ।”

माडी–७ की वडा अध्यक्ष चन्द्र बानियाँ भन्नुहुन्छ बुलबुले माडीको गौरव हो। “यो हाम्रो सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय धरोहर हो। यसको दीर्घकालीन संरक्षण र प्रवर्द्धनका लागि स्थानीयवासी, सरकार र सरोकारवाला निकायबीच समन्वय अत्यन्त जरुरी छ। वडा कार्यालयबाट यसको बिकास गर्न सक्दो पहल भइरहेको छ ।

बाबियो डाँडा टोल विकास संस्थाका अध्यक्ष खेमलाल पोखरेलको भनाइमा, “राज्यको गम्भीर ध्यान अभावमा बुलबुले वरपरको सार्वजनिक जमिन मिचिँदै गएको छ। संरक्षणको अभाव विडम्बनापूर्ण स्थिति हो। यस्ता ऐतिहासिक स्रोतहरूको संरक्षणमा अब ढिलो गर्नु हुँदैन।”

माडी नगरपालिकाकी नगरप्रमुख तारा काजी महतोले स्थानीय सरकारको तर्फबाट बुलबुलेको संरक्षण र विकासप्रति प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “बुलबुले माडीको आत्मा जस्तै हो। यस्ता ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको सम्पदा केवल स्थानको सौन्दर्य होइन, हाम्रो पहिचान हो। यसको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका लागि नगरपालिकाले दीर्घकालीन गुरुयोजना तयार पार्दैछ। सबै सरोकारवाला निकाय, नागरिक समाज र सम्बन्धित संघ–संस्थाको सहकार्यमा यसलाई एउटा आदर्श प्राकृतिक सांस्कृतिक गन्तव्य बनाउने हाम्रो लक्ष्य हो।”

यसैबीच देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च, भरतपुर चितवनका सल्लाहकार समिति सदस्य लिलाधर आचार्यले बुलबुलेजस्ता जलाशयहरू देशभरमा संरक्षणको खाँचो रहेको उल्लेख गर्दै भन्नुभयो, “धार्मिक–पर्यटकीय स्थलका रूपमा बुलबुलेको सम्भावना अत्यन्त राम्रो रहेको छ। यस्ता जलस्रोतहरूको संरक्षणको पहल स्थानीय तहबाटै सुरु हुनुपर्छ, अनि मात्र यसको दीर्घ परिणाम देखिन्छ।”

स्थानीय सरकार र प्रदेश सरकारबीच समन्वयको अभावका कारण अघिल्ला प्रयासहरू दीर्घकालीन संरक्षणमा सफल हुन सकेका छैनन्। त्यसैले अब ढिलो नगरी संरक्षण कार्यक्रम कार्यान्वयन गरिनुपर्ने स्थानीयवासीहरूको साझा माग छ।

यो सम्पदालाइ तत्काल ध्यान नदिइएमा यो ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको जलस्रोत भविष्यमा केवल कागजका पानामा सीमित हुने खतरा झन प्रस्ट बन्दै गएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु