काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त धार्मिक कथा वाचक देवी प्रतिभा आगामी वर्ष अमेरिकामा आयोजित “देवी प्रतिभा अमेरिका कथा वाचन यात्रा २०२६” मा सहभागी हुने भएकी छन्।
Well Done Creations द्वारा आयोजना गरिने यो धार्मिक यात्रा आगामी मार्चदेखि जुलाई २०२६ सम्म अमेरिकाका विभिन्न राज्यहरूमा सञ्चालन हुनेछ। यस अवधिमा देवी प्रतिभाले कथा वाचन, भगवद् गीता प्रवचन, भजन संध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान श्रीकृष्णका उपदेश र धर्मका सन्देशहरू अमेरिकी भूमिमा फैलाउने बताइएको छ।
अमेरिका यात्राको निमन्त्रणा प्राप्त भएपछि देवी प्रतिभाले भनिन् —
“कथा केवल सुनाउने कुरा होइन, यो भगवानको वाणी हो। जहाँ श्रद्धा हुन्छ, त्यहीँ भगवान बास गर्नुहुन्छ। म अमेरिकामा रहेका नेपाली, भारतीय आमा-बुवा, दाजुभाइ र दिदीबहिनीहरूसँग कथा वाचन, भक्ति, संस्कार र धर्मको सन्देश बाँड्न चाहन्छु।”
उनको सम्पूर्ण भिसा प्रक्रिया पूरा भइसकेको र उनी P-3 भिसामा अमेरिका जाँदैछिन्।
अमेरिकामा हुने मुख्य कार्यक्रमहरूः
-
भगवद् गीता प्रवचन — श्रीकृष्णको शिक्षाबाट जीवन र धर्मको दर्शन
-
कथा वाचन — राधा–कृष्णको आध्यात्मिक संवाद
-
भजन, पूजापाठ र आरती — भक्ति र आत्माको मेल
-
सांस्कृतिक समुदाय भेटघाट — नेपाली धर्म, संस्कार र एकताको उत्सव
पछिल्ला वर्षहरूमा देवी प्रतिभाले नेपाल, भारत लगायतका देशहरूमा प्रभावशाली कथा–प्रवचन प्रस्तुत गर्दै हजारौं भक्तजनका हृदय छोएकी छन्। उनको कथा–वाचन शैली आध्यात्मिक गहिराइ, प्रेम र दर्शनले भरिपूर्ण हुने गरेको छ।
अमेरिका भ्रमणका क्रममा उनले ओहायो, पेन्सिलभेनिया, एक्रोन, कोलोराडो, बोस्टन, मेरिल्यान्ड, भर्जिनिया, न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया, युटा, नर्थ क्यारोलाइना, इलिनोइस लगायतका राज्यहरूमा कथा प्रवचन गर्ने प्रारम्भिक योजना रहेको आयोजक पक्षले जनाएको छ।


