काठमाडौं, १९ असार । नेपालले एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ। घरेलु टिम मलेसियामाथि नौ विकेटको सहज जित निकाल्दै नेपाली यू–१६ टोलीले उपाधि नजिकको यात्रा तय गरेको हो।
बिहीबार क्वालालम्पुरमा सम्पन्न सेमिफाइनल खेलमा मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले मात्र ११.४ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि ओपनर परिमार्जन यादवले आक्रामक ब्याटिङ गर्दै ५९ रन बनाए भने शिवान्स बजगाईंले २३ रनको योगदान दिए। मलेसियाका नागिनेस्वरण साथनाकुमारनले नेपालको एक मात्र विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको मलेसियाको टोली ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनमै समेटिएको थियो। मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान दियाज पात्रोले १० रन जोडे। अन्य ब्याटरहरू भने दोहोरो अंकमा रन जोड्न असफल रहे।
नेपालका लागि बलिङतर्फ अभय यादवले प्रभावशाली प्रदर्शन गर्दै ४ विकेट लिए। सुभम खनालले ३ विकेट लिए भने कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए।
अब नेपालले फाइनलमा हङकङ र सिंगापुरबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

