सिरहामा ४३ वर्षीय युवक मृत अवस्थामा फेला, हत्या आशंका

जनकपुरधाम , १४ असार । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय रामसेवक महराका ४३ वर्षीय छोरा अजय महरा आज बिहान घर नजिकैको आँपको बगैँचामा मृत अवस्थामा फेला परेका हुन्।

मुलिफ अलि मन्सुरको आँपको रुखको छायाँमा अजयको शव घाँटीमा गम्छा बेरिएको अवस्थामा भेटिएको सिरहा प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिएका छन्।

उनका अनुसार आज बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो। डीएसपी पासमानका अनुसार अजयको घाँटीमा गम्छा बेरिएको अवस्थामा शव भेटिएको हो। घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा हत्या भएको आशंका गरिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको छ।

Share:

सम्बन्धित समाचारहरु