मुस्ताङ २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका–४, भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको कार्यालय भवनको शिलान्यास गरेका छन् ।
बौद्ध परम्पराअनुसार बिहीबार सम्पन्न शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डले पार्टीको संगठन विस्तारसँगै स्थानीय जनताको विकास आकांक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका इञ्चार्ज धीरेन्द्र विकका अनुसार सो भवन छ कोठे हुनेछ भने भवन निर्माणका लागि आवश्यक जग्गा वारागुङ मुक्तिक्षेत्र–२ छ्ङ्गुरका ढच्युङ गुरुङले पार्टीलाई दान गरेका हुन्।
शिलान्यासपछि अध्यक्ष प्रचण्डले स्थानीय नेता तथा कार्यकर्तालाई जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न निर्देशनसमेत दिए।


