परशुराम कुण्ड र बाल्मीकि आश्रमलाई जोड्ने धार्मिक करिडोर निर्माणले माडीको धार्मिक पर्यटनमा नयाँ आयाम थप्ने

— रेशम सापकोटा, सेतो नेपाल

चितवन-८ साउन, चितवनको माडी क्षेत्र धार्मिक र सांस्कृतिक दृष्टिले विशेष पहिचान बनाउँदै आएको छ।

यहाँ रहेका ऐतिहासिक तथा आस्था जोडिएका स्थलहरूले हजारौं श्रद्धालुहरूलाई तानिरहेकामा, अझ व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकिए माडी धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्ने सम्भावना प्रबल देखिन्छ। विशेषतः परशुरामधाम र वाल्मीकि आश्रम जस्ता तीर्थस्थलहरू, जुन हिन्दू धर्ममा गहिरो धार्मिक महत्त्व बोकेका छन्, आन्तरिक तथा भारतीय श्रद्धालुहरूको लागि पनि आकर्षणको केन्द्र बन्दै आएका छन्। तर, आवश्यक पूर्वाधार र आवागमन सुविधाको कमीले यिनको सम्भावना अझै पुरा रूपमा उजागर हुन सकेको छैन।

यही आवश्यकता महसुस गर्दै माडी नगरपालिकाले परशुराम कुण्डदेखि वाल्मीकि आश्रमसम्मको धार्मिक करिडोर निर्माणको योजना अघि सारेको छ। प्रस्तावित करिडोरले ती स्थलहरूलाई केवल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक रूपमा पनि एकआपसमा जोड्ने विश्वास गरिएको छ। यसमार्फत सुलभ यातायात, प्रवर्द्धन र सुविधासम्पन्न पूर्वाधारको विकास गरी माडीलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्य लिइएको छ।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतले सेतो नेपाल अनलाइनसँग कुरा गर्दै भन्नुभयो, “माडी क्षेत्र धार्मिक र सांस्कृतिक सम्पदाले भरिएको छ। तर यी सम्पदाहरूको प्रचार–प्रसार र भौतिक पहुँचको अभावले यसको वास्तविक शक्ति अझै देखाउन सकेका छैनौँ। परशुराम कुण्ड र बाल्मीकि आश्रमलाई जोड्ने धार्मिक करिडोर निर्माणको काम हामीले अघि सारेका छौँ, जसका लागि बजेट पनि विनियोजन भइसकेको छ। यसले यी दुई प्रमुख तीर्थस्थलको यात्रा सहज बनाउनेछ, धार्मिक पर्यटनमा नयाँ आयाम थपिनेछ, र यसबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउनेछन्। हाम्रो उद्देश्य यो मार्गलाई धार्मिक, सांस्कृतिक र आर्थिक उन्नतिका रूपमा विकास गर्नु हो।”

करिडोर निर्माणसँगै माडी नगरपालिकाले धार्मिक टुर प्याकेज तयार गर्ने तयारी पनि गरिरहेको छ। यसले माडीमा रहेका अन्य महत्वपूर्ण स्थलहरू—जस्तै वैकुण्ठधाम, गोधक धाम, अयोध्या धाम, विक्रम बाबा मन्दिर, सीता गुफा, सोमेश्वर गढी, रेवा त्रिभेणी धाम, चक्र तीर्थधाम, दक्षिण कालिका, सम्मेश्वर शनिधाम आदि—लाई समेत समेट्ने गरी व्यवस्थित धार्मिक भ्रमण सम्भव बनाउनेछ। प्राकृतिक सौन्दर्य, हरियाली जंगल, कन्दमूल, पवित्र नदी र शान्त वातावरणको अनुभव गर्दै गरिने यस्तो यात्राले पर्यटकलाई केवल आस्था होइन, आत्मिक शान्ति र सांस्कृतिक गहिराइ पनि प्रदान गर्नेछ।

पूर्वाधार विकास, आवागमन सुधार, धार्मिक संरचनाको संरक्षण तथा प्रवर्द्धनमार्फत माडीको सामाजिक र आर्थिक जीवनशैलीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यहाँको प्राकृतिक सौन्दर्य, जङ्गल सफारी, डुङ्गा यात्रा र जैविक विविधताको संगमले पनि धार्मिक भ्रमणलाई पर्यटकीय आकर्षणमा बदल्नेछ।

माडी नगरपालिका अब धार्मिक पर्यटनलाई योजनाबद्ध र दीगो रूपमा अघि बढाउने तयारीमा छ। परशुराम कुण्ड र बाल्मीकि आश्रमलाई केन्द्रमा राखी बनाइने यो धार्मिक करिडोर केवल बाटो निर्माणको योजना मात्र होइन, माडीको भविष्यको समृद्ध मार्गचित्र पनि हो। यदि योजनाहरू सफलतापूर्वक कार्यान्वयन भए भने माडीले धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा आफ्नो पहिचान अझ प्रस्ट रूपमा स्थापित गर्न सक्नेछ।

Share:

सम्बन्धित समाचारहरु