काठमाडौं, २८ जेठ। काठमाडौं महानगरपालिका (कामपा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो कायम गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको सडक निर्माण ठेक्कामा अनियमितता भएको ठहर गर्दै अख्तियारले उनीहरूमाथि भ्रष्टाचार अभियोग लगाएको हो।
अख्तियारको आरोप अनुसार, परियारसहितको समूहले पेन्डिङ लिटिगेसन (विचाराधीन मुद्दा) को गलत व्याख्या गर्दै १८ करोड ९ लाख २२ हजार रुपैयाँमा काम गर्न तयार समानान्तर सेवा प्रालिको प्रस्ताव रोक्दै, त्यसको सट्टा कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार रुपैयाँमा ठेक्का दिएको थियो।
यसबाट राज्यलाई चार करोड ३१ लाख ७२ हजार रुपैयाँको आर्थिक क्षति पुगेको अख्तियारको दाबी छ।
यी अधिकारीविरुद्ध मुद्दा
मुद्दामा परियारसहित निम्न सात जना प्रतिवादी बनाइएका छन्:
-
रवीनमान श्रेष्ठ – निर्देशक, बोलपत्र मूल्यांकन समिति
-
शिवराज अधिकारी – सदस्य, बोलपत्र मूल्यांकन समिति
-
वसन्त आचार्य – सदस्य, बोलपत्र मूल्यांकन समिति
-
नमराज ढकाल – सदस्य, बोलपत्र मूल्यांकन समिति
-
जनार्दन गिरी – इन्जिनियर
-
उत्तम दाहाल – सहायक निर्देशक, खरिद इकाइ
परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक छन्। —00–


