स्वास्थ्य सेवामा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवन, २६ जेठ। चितवनका युवाहरूलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउँदै स्वदेश तथा विदेशमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने उद्देश्यसहित ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

नारायणगढको लायन्सचोकमा रहेको केन्द्रको उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमार्फत यसको उद्देश्य र कार्यविधिबारे जानकारी दिइएको हो।

घरायसी र सहज वातावरणमा गुणस्तरीय तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना गरिएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत सुवाष खड्काका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा ‘केयर गिभर’ पेशाप्रति युवाहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको छ।

“काठमाडौँस्थित मुख्य कार्यालयबाट अहिलेसम्म पाँच हजारभन्दा बढी प्रशिक्षार्थीलाई व्यावसायिक तालिम दिइसकेका छौं,” खड्काले भन्नुभयो, “यीमध्ये अधिकांश विदेशमा रोजगारी गरिरहेका छन्। बेलायतस्थित CPDASO बाट मान्यता प्राप्त भएकाले यहाँ तालिम अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुँदै आएको हो।”

चितवन शाखाका प्रमुख ज्ञानबहादुर अधिकारीका अनुसार हाल काठमाडौँ, इटहरी र चितवनमा फ्रेन्चाइजमार्फत तालिम सञ्चालन भइरहेको छ। तालिम प्रत्यक्ष रूपमा कक्षा तथा अनलाइन दुवै माध्यमबाट लिने व्यवस्था मिलाइएको छ।

तालिमको अवधि ३९० घण्टादेखि १,२०० घण्टासम्म हुनेछ। कक्षा ८ उत्तीर्ण गरेका व्यक्तिहरू सिटिभिटीको बेसिक कोर्समा सहभागी हुन सक्नेछन्, जसले इजरायललगायत देशहरूमा G2G कार्यक्रममार्फत रोजगारीको अवसर प्रदान गर्नेछ। युरोप, अमेरिका लगायत मुलुकमा जान चाहनेको हकमा कक्षा १२ उत्तीर्ण अनिवार्य गरिएको छ, जसलाई लक्षित गर्दै CPDASO को एडभान्स कोर्स उपलब्ध गराइएको छ।

चितवन शाखाका बजार प्रवर्द्धन प्रमुख सुसिल भट्टराईले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता तालिम केन्द्रहरू अहिलेको आवश्यकता भएको बताउनुभयो। “चितवन जस्तो तीव्र शहरीकरण भइरहेको जिल्लामा यस्ता व्यावसायिक तालिम अनिवार्यजस्तै भइसकेको छ,” उहाँले भन्नुभयो, “यी केन्द्रहरूले वृद्धजन, अपांगता भएका व्यक्ति र स्वास्थ्य सेवामा आवश्यक जनशक्ति उत्पादनमा योगदान दिन्छन्, साथै विदेश रोजगारी खोजिरहेका युवाहरूलाई आवश्यक सीप र ज्ञान प्रदान गर्छन्।”

कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका–२ का वडाध्यक्ष मनोज रानाभाटले यस्ता तालिम केन्द्रहरूले विदेश जाने युवाहरूलाई रोजगारीका लागि तयारी गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। “स्वास्थ्य क्षेत्रमा रोजगारी पाउन चाहने नेपाली युवाहरूको संख्या उल्लेखनीय छ,” उहाँले भन्नुभयो, “यस किसिमका तालिमले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउँछ। वडाबाट आवश्यक सहयोग प्रदान गरिनेछ।”

केन्द्रको स्थापना उपलक्ष्यमा मानव सेवा आश्रममा आश्रित वृद्धवृद्धाहरूलाई खाना खुवाउने कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।

विदेश रोजगारीको सम्भावनासँगै चितवनमा नयाँ आशा पलाएको यस केन्द्रले वृद्धाश्रम, अपांगता भएका व्यक्ति तथा स्वास्थ्य सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै लैजाने अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु