काठमाडौं , १५ भदौं । सरकारले नेपालको नक्सालाई छिमेकी देशसहित अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ। चीनले हालै जारी गरेको आफ्नो मानक नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।
ुनेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ,ु परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको सरकारको भनाइ छ।
२०७७ जेठ ३१ गते संविधान संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी गर्न संसदले अनुमोदन गरेको थियो। त्यसअघि सरकारले जेठ ७ गते ती भूभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो। त्यसबेला संविधान संशोधन गर्न सबै दलहरु एकमत भएका थिए। नेपाल तथा विदेशीहरूले त्यही नक्सालाई प्रयोग गर्दै आइरहेका छन्।
चीनले गत सोमबार जारी गरेको आफ्नो मानक नक्सामा छिमेकी मुलुकहरूको नक्सा सार्वजनिक गर्दा नेपालको पुरानै नक्सा प्रयोग गरेको थियो। सोही विषयलाई लिएर नेपालमा चीनको तीव्र विरोध हुँदै आइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार विहान नेपालका लागि चिनियाँ राजदूत छन् सङलाई बोलाएर पुरानो नक्सा प्रयोग गरेकोबारे चासो राखेका थिए। यसैबीच नेपालको चुच्चे नक्सालाई मान्यता नदिएकोबारे प्रधानमन्त्री दाहालले चिनियाँ पक्षसँग छलफल गर्ने भएका छन्। नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पुरानै नक्सा प्रयोग गरेकोबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा चिनियाँ पक्षसँग कुरा राख्ने बताए।–00–


