चितवन, २२ जेठ । “प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने मूल नाराका साथ चितवनको कालिका नगरपालिका–३ मा अवस्थित जनहित माध्यमिक विद्यालयले विश्व वातावरण दिवसको अवसरमा विरुवा संरक्षण कार्यक्रम गरी दिवस मनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेश वाइवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी, बालसमूह, जुनियर रेडक्रस, स्काउट, लुमन्ती संस्था, युवा सञ्जाल कालिका, जनप्रिय टोल विकास संस्था तथा नमुना महिला समूहका प्रतिनिधिहरू र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
औपचारिक कार्यक्रम नगरी संचालन गरिएको कार्यक्रममा लुमन्ती संस्थाका समुदाय परिचालक विकास राना मगरले वातावरण दिवसको महत्वबारे जानकारी गराउनु भएको थियो। विद्यालयले अघिल्लो वर्ष रोपिएका विरुवाहरू संरक्षणको अभावमा नष्ट हुन थालेपछि त्यसको संरक्षणलाई प्राथमिकता दिँदै लुमन्ती संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमअन्तर्गत सहभागीहरूले विरुवाको गोडमेल, मल हाल्ने, पानी सिंचाइ गर्ने तथा बाँसको सहायताले बार लगाउने कार्य गरेका थिए। विद्यालय परिसरभित्र रहेका विरुवाहरूको संरक्षणले वातावरण स्वच्छ र हरियाली राख्न सहयोग पुग्ने विश्वास विद्यालय व्यवस्थापन समिति अध्यक्ष वाइवाले व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “यस्ता साना प्रयासहरूले पनि जलवायु परिवर्तन अनुकूलनमा टेवा पुर्याउँछन्। बालबालिकामा वातावरणप्रति चासो बढाउनु सकारात्मक पक्ष हो।” –00–


