पोर्चुगल,२१ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आयोजनामा लेखक रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘अफगानिस्तानको आगो’ लोकार्पण गरिएको छ।
पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। राजदूत पौडेलसहित नेपाली राजदूतावास पोर्चुगलका द्वितीय सचिव रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक स्वयं रामप्रसाद पन्त (आरपी) को संयुक्त रूपमा कृति लोकार्पण गरिएको हो।
कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गानबाट गरिएको थियो भने स्वागत मन्तव्य अनेसासका निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटाले राख्नुभएको थियो।
कृतिमा लेखकले अफगानिस्तानमा रहँदा भोगेका जीवनका पीडा, संघर्ष र अनुभवहरू मार्मिक ढंगले प्रस्तुत गरेका छन्। पुस्तकमाथि अर्जुन श्रीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। लेखक पन्तले आफैंले भोगेका क्षणहरूलाई निबन्धका रूपमा प्रस्तुत गर्न खोजेको बताउँदै यो कृति आफ्ना जीवनका घाउहरूको दस्तावेज भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए। नेपाली राजदूतावास पोर्चुगलका द्वितीय सचिव रामबाबु नेपाल, एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगर, साकोस नोबेल साहित्य संस्था संस्थापक अध्यक्ष सरस्वती गौतम, र नेपाल पत्रकार महासंघ युरोपका उपमहासचिव कलश खरेल लगायतले लेखकलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
प्रमुख अतिथि राजदूत पौडेलले प्रवासमा भोगिएको पीडालाई पुस्तकमार्फत अभिलेख राख्नु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै लेखक पन्त र आयोजक संस्था अनेसास पोर्चुगललाई धन्यवाद दिनुभयो।
कार्यक्रमको अध्यक्षता गर्नु भएका सबी श्रेष्ठले सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सञ्चालन अनेसास पोर्चुगलका महासचिव एन.बी. अन्जानले गर्नुभएको थियो।–00–


