– संगीता आचार्य
चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम (NMRP) ले यस वर्ष देशभरका किसानसम्म उन्नत प्रविधिमा आधारित मकैका जात प्रवर्द्धन तथा प्रसार गर्न विशेष अभियान थाल्ने भएको छ। कार्यक्रमले अनुसन्धानबाट विकास गरिएका उन्नत तथा स्थानीय अनुरूपका मकैका बीउ–बीजन किसानको पहुँचमा पुर्याउन विभिन्न कार्ययोजना अगाडि बढाउने निर्णय गरेको हो।
कार्यक्रमका संयोजक तीर्थराज रिजालका अनुसार नेपालमा हाल कार्यक्रमले विकास गरेका उन्नत मकैका बीउ रोप्ने किसानको संख्या करिब १४ प्रतिशत मात्र छ। यसलाई बढाएर कम्तीमा ३३ प्रतिशत किसानसम्म नेपाली अनुसन्धानद्वारा विकास गरिएका बीउ पुर्याउने लक्ष्य राखिएको छ।
१० हाइब्रिड, २ पोषिलो र ३० भन्दा बढी स्थानीय जात विकास
अघिल्लो आर्थिक वर्षदेखि ‘मकैबाली अनुसन्धान र प्रविधि प्रवर्द्धन परियोजना’ नामक कार्यक्रममार्फत १० प्रजातिका वर्णशंकर (हाइब्रिड) जात, २ पोषिलो जात र ३० भन्दा बढी स्थानीय–उपयुक्त खुला परागित (OPV) जात विकास गरिएको कार्यक्रमले जनाएको छ।
कार्यक्रमले दर्ताका लागि प्रस्ताव गरिएका दुई नयाँ जात र परीक्षण सफल भई दर्ता प्रक्रियामा रहेका थप दुई जात पनि विकास गरिसकेको संयोजक रिजालले बताए।
स्थानीय प्रजातिका मकैलाई सुधार गरी किसानमै प्रयोगयोग्य बनाउने काम पनि कार्यक्रममार्फत अघि बढाइएको छ।
चितवनसहित विभिन्न जिल्लामा जातीय प्रदर्शन
नयाँ विकसित जातको प्रभावकारिता किसानले प्रत्यक्ष अवलोकन गर्न सकून् भनेर यस वर्ष चितवनका माडी, गोलाघाट, गीतानगर, विठुवा, हरैया, भीमनगर, देवचुली, बरादी, डेढगाउँ, आरुघाटलगायतका क्षेत्रमा जातीय प्रदर्शन गरिने कार्यक्रम छ।
चितवन बाहेक नवलपरासी (सुस्ता पूर्व), गोरखा, बारा लगायतका जिल्लामा पनि प्रदर्शन तथा बीउ–बिजन प्रवर्द्धन कार्यक्रम संचालित हुनेछ।
किसान, व्यापारि र स्थानीय तहसँग समन्वय
कार्यक्रमअन्तर्गत किसान, बीउ–बिजन विक्रेता, स्थानीय तह, कृषि विकास समन्वय इकाइ तथा सरोकारवाला संस्थासँग छलफल–अन्तरक्रिया आयोजना गरिने प्राविधिक अधिकृत ध्रुव रेग्मीले जानकारी दिए।
यसअन्तर्गत मकैवाली दिवस मनाउने, स्थलगत तालिम प्रदान गर्ने, बीउ वितरणसम्बन्धी परामर्श गर्ने तथा उत्पादन–बजारीकरणमा सहकार्य बढाउने योजना बनाइएको छ।
धानपछि दोस्रो प्रमुख अन्नबाली मकै
नेपालमा धानपछि दोस्रो महत्वपूर्ण अन्नबालीका रूपमा मकैलाई लिइन्छ।
देशभर करिब ९.४ लाख हेक्टरमा मकैखेती हुने तथा वार्षिक करिब २९.७ लाख टन उत्पादन हुने तथ्याङ्क कार्यक्रमसँग रहेको छ। नेपालमा मकैखेतीमध्ये करिब ७० प्रतिशत पहाडी क्षेत्रमा तथा २० प्रतिशत तराइ क्षेत्रमा हुने तथ्याङ्कसमेत सार्वजनिक गरिएको छ।–0—


