चितवन । मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दीका २० वर्षीय तृशल महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका–९ टिकौली जंगलनजिक अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक तृशल महतो र पछाडि सवार १९ वर्षीय अंकित महतो घाइते भएका थिए। घाइते तृशलको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते अंकित महतोको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


