काठमाडौं, २० जेठ। ‘मेरी बास्सै’ टेलिसिरियलमार्फत ‘नक्कली प्रचण्ड’ का रूपमा चर्चामा आएका कलाकार घनश्याम गौतमकाे निधन भएकाे छ।
उनकाे सोमबार राति १२:१० बजे भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उपचारका क्रममा निधन भएकाे पारिवारिक श्रोतले जनाएकाे छ। दुई वर्षदेखि आन्द्राको क्यान्सरले पीडित गौतमकाे निधनकाे पुष्टि उनकाे आधिकारिक फेसबुक एकाउन्टमार्फत समेत गरिएको छ।
राति १ बजे पोस्ट गरिएको एक तस्बिरमा लेखिएको छ, ‘अब हामीमाझ रहनुभएन, हार्दिक श्रद्धाञ्जली।’
अल्पायुमै संसारबाट बिदा लिएका गौतमले विभिन्न हास्य टेलिशृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज शोहरूमा अभिनय प्रस्तुत गरेका थिए। उनले हास्य कलाकारितामार्फत समाजमा विशेष पहिचान बनाएका थिए।
डेढ महिनाअघि उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो। अवस्था जटिल हुँदै गएपछि केही दिनअघि ताथलीस्थित क्यान्सर सेन्टरमा सारिएको थियो।
उनको असामयिक निधनप्रति कलाकार, दर्शक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।
गौतमकाे पार्थिव शरीरलाई आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।—00–


