काठमाडौँ । अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा सेफलाई पक्राउ गरिएको हो। उनले बारा, कलैया नगरपालिका घर भई हाल काठमाडौँको डल्लुमा बस्दै आएका थिए।
पक्राउ पर्ने बेला कारोबारमा प्रयोग भएका विभिन्न कम्पनीका दुई थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सेफले १९ करोड ८१ लाख ४९ हजार ५ सय ८१ रुपैयाँभन्दा बढी बराबरको अवैध अभौतिक कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
अवैध रूपमा अभौतिक मुद्राको प्रयोग तथा कारोबार निषेध सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ।–00–


