नवलपुर, १९ जेठ । नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौली चोकमा सोमबार बिहान एम्बुलेन्स र स्कुल भ्यान एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बुटवलबाट नारायणघाटतर्फ बिरामी लिएर जाँदै गरेको ना ४ च ४६१६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ आउँदै गरेको बा २० च ७२ नम्बरको दिव्य एकेडेमी बोर्डिङ स्कुल, केउरेनीको स्कुल भ्यान ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ निवासी ५२ वर्षीय कुलप्रसाद सुबेदीलाई उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। तर उपचारका क्रममा बिहान ९:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
एम्बुलेन्समा सवार घाइतेमध्ये बुटवल नगरपालिका–३ गोलपार्क निवासी ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई, र २५ वर्षीया स्नेहा परियारको टाउको र अनुहारमा चोट लागेको थियो। उपचारपछि तिनीहरूलाई डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिनुभयो।
स्कुल भ्यानमा सवार १० वर्षीया आयुसा गौतम (देवचुली–१७) र ६ वर्षीया सोखनिया रोक्का सामान्य चोटपटक लागेर स्थानिय भविष्य पोली क्लिनिकमा उपचारपछि घर फर्किएका छन्।
दुर्घटनापछि एम्बुलेन्समा रहेका बिरामीलाई अर्को एम्बुलेन्समार्फत चितवन पठाइएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ।


